मेलबर्न । अष्ट्रेलियाका केही राज्यहरुमा आइतवारदेखि समय परिवर्तन भएको छ । गर्मी याम शुरु भएसँगै यहाँका केही राज्यहरुले डे लाइट सेभिङ टाइम लागू गरेका हुन् ।

आइतवार हिान २ बजेदेखि लागू भएको समय अनुसार अन्तर राज्यबीच झण्डै एक घण्टा समय फरक पर्नेछ । यात्रामा निस्कने यात्रुहरुलाई परिवर्तित समयको ख्याल गर्न पनि अष्ट्रेलियन सरकारले अपिल गरेको छ । नेपाल लगायतका अधिकांश देशमा ऋतु अनुसार समय नै परिवर्तन गर्ने व्यवस्था छैन । त्यसैले अष्ट्रेलियामा भर्खर आएका नेपालीहरुकालागि यो नौलो अनुभव हो ।

सरकारको पूर्व अपील अनुसार न्यू साउथ वेल्स,भिक्टोरिया,साउथ अष्ट्रेलिया,तस्मनिया र एसिटी राज्यमा बसोबास गर्दै आएकाहरुले आइतवार विहान २ बजे नै घडी रिसेट गरेका छन् । नयाँ समय अनुसार ती राज्यका बासिन्दाहरुको सुत्ने समय अर्थात रातको समयमा झण्डै एक घण्टा कटौति भएको छ । आइतवार २ बजेबाट एकैचोटि ३ बजे कायम गरिएको थियो ।

स्मार्ट फोन,ट्याब्लेट,स्मार्ट स्पिकर्स जस्ता स्मार्ट डिभाइसहरुमा स्वचालित रुपमा समय रिसेट भए पनि नाडी घडी र भित्ते घडीहरुको समय भने आफैंले मिलाउनुपर्नेछ । नयाँ समय अबको ६ महिनासम्म यथावत रहनेछ । अष्ट्रेलियाकै क्वीन्सल्याण्ड,द नर्थन टेरोटरी अर्थात वेस्टर्न अष्ट्रेलियामा भने परिवर्तित समयको कुनै प्रभाव पर्ने छैन ।

Photo : SBS

Comments

comments