काठमाडौं । परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपति सी जिनफिङ शनिबार नेपाल आइपुग्ने जनाएको छ। मन्त्रालयले आज बिहान प्रेस विज्ञप्ति जारी गरी चिनियाँ राष्ट्रपति सीको दुई दिने नेपाल भ्रमणबारे जानकारी दिएको हो।

विज्ञप्तिमा चिनियाँ राष्ट्रपतिले असोज २५ र २६ गते (अक्टोबर १२ र १३) नेपालको राजकीय भ्रमण गर्न लागेको जनकारी दिइएको छ। ‘राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनफिङले अक्टोबर १२ र १३ मा नेपालको भ्रमण गर्दै हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले नेपालका राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गर्नेछन्। सरकारले चिनियाँ राष्ट्रपति र उनको प्रतिनिधिमण्डलको स्वागतमा विशेष भोजसमेत आयोजना गर्नेछ।

सोही अवसरमा नेपाल र चीनबीच विभिन्न सम्झौतासमेत हुने जनाइएको छ।

अक्टोबर ११ र १२ मा भारतमा हुन लागेको ‘भारत-चीन’ समिटमा भाग लिएर चिनियाँ राष्ट्रपति सोही दिन नेपाल आउनेछन्।

Comments

comments