काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनका प्रतिनिधिहरु काठमाडौं आउने क्रम शुरु भएको छ ।

एनआरएनएका सचिव जानकी गुरुङले ५० भन्दाबढि देशका प्रतिनिधिहरु नवौं विश्व सम्मेलनमा भाग लिन काठमाडौं आईसकेको जानकारी दिनुभयो ।

एनआरएनएको सम्मेलन यही असोज २८, २९ र ३० गते काठमाडौंमा हुँदैछ । ५५ देशका करिव २२ सय प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने पनि एनआरएनएको अनुमान छ ।

सम्मेलनमा बिहीबारबाट सहभागी हुनेहरुको नाम दर्ता गर्ने क्रम शुरु हुनेछ । सम्मेलनमा सहभागीले २७ गतेसम्म नाम दर्ताको काम सकिसक्नुपर्ने एनआरएनले जनाएको छ ।

असोज २८ गते हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि दोस्रो दिन २९ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । ३० गते सो सम्मेलन समापन गर्ने कार्यक्रम तय भएको छ ।

सम्मेलनमा सबैलाई सहभागी हुन एनआरएनले आह्वान गरेकोछ । हरेक वर्ष असोज २४ गतेलाई एनआरएनएले आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

यसै अवसर पारेर सो सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नयाँ नेतृत्वका लागि कुमार पन्त र कूल आचार्यले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन ।

Comments

comments