काठमाडौँ । विश्वकप फुटबल २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको प्रतियोगितामा नेपालले बिहीबार अष्ट्रेलियासँग खेल्दै छ।

समूहको तेस्रो खेलमा नेपालले अष्ट्रेलियासँग खेल्न लागेको हो। अष्ट्रेलियाको क्यानबेरामा हुने यो खेलमा नेपाललाई अष्ट्रेलियामा रहेका नेपालीहरुको पनि समर्थन रहने छ।

अष्ट्रेलिया र नेपाल अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन्। दक्षिण एसियाली फुटबलमै संघर्ष गरिरहेको नेपाललाई अष्ट्रेलियासँगको खेल अपेक्षाभन्दा पनि अनुभव हात पार्ने अवसर हुने छ।

नेपालले गत सेप्टेम्बरमा चाइनिज ताइपेईलाई उसकै मैदानमा हराएर करिब एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पहिलो जित हात पारेको थियो। यता नेपाललाई फराकिलो अन्तरले हराएको कुवेतलाई ३–० गोलले हराएर अष्ट्रेलियाले छनोट प्रतियगितामा सुखद् सुरुवात गरेको छ। त्यसअघिका ठिक दुई खेलमा अस्ट्रेलिया पराजित भएको थियो यूएई र दक्षिण कोरियासँग।

अष्ट्रेलिया सन् २००६ को विश्वकपयता लगातार विश्वकपमा सहभागी छ। त्यसअघि उसले अन्तिमपटक र पहिलोपटक सन् १९७४ मा विश्वकप खेलेको थियो। एसियाबाट छनोट खेल्न पाउने व्यवस्था भएपछि एसियाबाट सन् २००६ मा अष्ट्रेलिया पहिलो प्रयासमै विश्वकपमा सहभागी भएको थियो । उक्त संस्करणमा अष्ट्रेलिया अन्तिम १६ सम्म पुगेको थियो, जुन अहिलेसम्मकै उसको सबैभन्दा ठूलो सफलता हो विश्वकपमा।

अष्ट्रेलियन टोलीका धेरै खेलाडीहरु युरोपका क्लबहरुमा खेल्ने गर्छन्। टोलीको सबैभन्दा अनुभवी स्ट्राइकरका रुपमा रहेका म्याथ्यु लेक्की जर्मनीको बुन्डेसलिगा क्लब हर्था बीएससीका लागि खेल्छन्। लेक्कीले अस्ट्रेलियाका लागि ६२ खेलमा ११ गोल गरेका छन्।

Comments