काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले केरुङ–काठमाडौं रेलमार्ग तथा सुरुङमार्ग निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा काठमाडौंमा रहनुभएका राष्ट्रपति सीले सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्ने र सुरुङमार्ग बनाउन सक्रिय हुने प्रतिबद्धता जनाउनुभएको हो ।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले समकक्षी सीको सम्मानमा सोल्टी होटलमा आयोजना गरेको रात्रीभोजमा बोल्दै सीले चाँडै सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्ने बताउनुभयो । यस्तै सुरुङमार्ग बनाउन पनि दुवै देश सक्रिय हुने उल्लेख गर्नुभयो । सी अघि सम्बोधन गर्नुभएका राष्ट्रपति भण्डारीले नेपाली जनताले केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्ग बनेको हेर्न चाहेको बताउनुभएपछि जवाफमा सीले त्यस्तो बताउनुभएको हो ।

राष्ट्रपति सीले चीन र नेपालबीच कुनै समस्या नरहेको दाबी गर्नुभयो । ‘नेपाल र चीनबीच मित्रता मात्र रहेको उहाँको भनाइ थियो । उहाँले राष्ट्रपतिद्वयबीच दुवै देशलाई विकास र समृद्धितर्फ लैजाने सहमति गरेको बताउनुभयो ।

राष्ट्रपति सीले दुईदेशबीच अझ सुविधाजनक कनेक्टिभिटी सञ्जाल बन्ने बताउनुभयो । उहाँले चीनले नेपाललाई दिदैं आएको भूकम्पपछिको पुनर्निमार्ण परियोजनालाई अगाडि बढाउने जानकारी दिनुभयो ।

नेपाल भ्रमणवर्ष २०२०लाई सफल बनाउन चिनियाँ बढीभन्दा बढी जनतालाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्ने बताउदै राष्ट्रपति सीले जलवायु परिवर्तनसम्बन्धी नेपालको चासोलाई चीनले बुझेको र त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘सगरमाथा र नेपालको हिमाली क्षेत्रलाई संरक्षण गर्न चीन सदैव तत्पर रहेको उहाँको भनाइ थियो ।

नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार आएका सीले उहाँको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित राजकीय भोजमा गर्नुभएका प्रतिवद्धताहरु यस्ता छन् ।

१ नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा हरसम्भव साथ–सहयोग रहनेछ ।

२ बढी नाकाहरु खोलेर बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्नेछौं ।

३ केरुङ–काठमाडौँ सुरुङमार्गको परियोजनालाई अघि बढाउन हामी सक्रिय हुनेछौं ।

४ अरनिको राजमार्ग सञ्चालन सुनिश्चित बनाई विभिन्न चरणमा स्तरोन्नतिका लागि सहयोग गर्नेछौं ।

५ हाम्रो साझा हिमालय क्षेत्र रक्षा गर्न सदा तत्पर रहनेछौं ।

६ हामीले बनाएका योजना पूरा गरेरै छाडौं, चीनमा पनि यस्तै गरेका छौं ।

७ चीन र नेपालको सम्बन्धमा समस्या छैन, मित्रता मात्रै छ ।

Comments

comments