एजेन्सी । क्याटलानमा दिनहुँ भइरहेको राजनीतिक विरोध प्रदर्शनका कारण आगामी साता हुने भनिएको एल क्लासिको स्थगित भएको छ।

क्याटलान शहर बार्सिलोनामा अक्टोबर २६ तारिखमा बार्सिलोना र रियल म्याड्रिडबीचको चर्चित फुटबल भिडन्त एल क्लासिको हुँदै थियो।

यो सिजन यो पहिलो एल क्लासिको हो। केही दिन अघि स्पेनिस अदालतले क्याटलानका तत्कालिन उपराष्ट्रपतीदेखि सभामुखसम्मेत ९ जना नेतालाई १३ वर्षसम्म जेल सजाय तोकेको थियो। त्यसयता क्याटलान शहरमा दिनहुँ विरोध प्रदर्शनहरु भइरहेका छन्।

एल क्लासिकोलाई विरोधको प्लेटफर्म बनाउन सक्ने स्पेनिस फुटबल संघले चिन्ता व्यक्त गर्दै खेल स्थगित गर्नुपरेको जनाएको छ।

स्पेनबाट अलग हुने विषयमा सन् २०१७ अघि जनमत संग्रहको नेतृत्व गरेको भन्दै स्पेनको अदालतले उनिहरुलाई सजाय गरेको हो। जनमत संग्रहले क्याटलानलाई स्पेनबाट अलग हुने जनादेश दिएको थियो।

स्पेनका नेताहरुले भने जनमत संग्रहमार्फत छुट्टै राज्य बन्ने काम आफ्नो देशको संविधान विपरित भएको दावी गर्दै आएका थिए। क्याटलानमा छुट्टै सरकार भएपनि त्यहाँ स्पेनको प्रत्यक्ष प्रभाव छ। क्याटलान क्लब बार्सिलोनाले स्पेनको घरेलु लिग ला लिगा खेल्छ।

घरेलु लिगमा यो सिजन ८ खेलपछि रियल म्याड्रिड १८ अंकसहित शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको ८ खेलबाट १६ अंक छ।

Comments