काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा जर्मनी निवासी कुमार पन्त निर्वाचित हुनुभएको छ । वामपन्थी प्यानलबाट उम्मेदवारी दिनुभएका पन्तको प्यानलले संघको कार्य समितिमा बहुमत हासिल गरेको छ ।

नव निर्वाचित अध्यक्ष पन्तले आफ्नो कार्यकाल पाँचवटा मन्त्रले सञ्चालन हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगार, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका मुद्दामा आफ्नो कार्यकाल केन्द्रित गर्ने घोषणा गर्नुभएको छ । विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउन र एनआरएनए फाउन्डेसन विस्तार गरी सोहीमार्फत एनआरएनएको सहभागिता बढाउने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ । पन्तले एनआरएनएले घोषणा गरेको १० अर्बको सामूहिक लगानी कोषलाई मूर्त रूप दिने घोषणा गर्नुभएको छ । यो कोषले पूर्वाधार निर्माणलगायत क्षेत्रमा लगानी गर्ने उद्देश्य राखेको छ ।

अध्यक्ष पन्तले सुरक्षित रोजगारीका लागि विद्यमान समस्या र समाधानका उपायबारे श्वेतपत्र जारी गरी सरकारसँगको समन्वयमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वैदेशिक रोजगारीमा जानुअघि नै सीपयुक्त बनाई अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली जनशक्तिको सेवा सुविधा र मर्यादा अभिवृद्धिका प्रभावकारी कार्यक्रम सरकारसँगको समन्वयमा कार्यान्वयन गर्ने उहाँको भनाइ छ ।

निर्वाचन अघि सार्वजनिक गरेको घोषणापत्रमा अध्यक्ष पन्तले संविधानअनुसार गैरआवासीय नेपाली नागरिकता पाउने अधिकार शीघ्र कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यस्तै एनआरएनमा आबद्ध हुन न्यूनतम शुल्क वा निःशुल्क सदस्यता पञ्जीकरणका लागि पनि पहल गर्ने उहाँको प्रतिवद्दता छ ।

‘संघमा महिलाको उपस्थिति, सहभागिता र नेतृत्वलाई व्यापक र सशक्त बनाउन विशेष अभियान सञ्चालन गरिने र गैरआवासीय नेपालीको समान भूमिकालाई स्थापित गर्न नेतृत्व चयनका क्रममा अनलाइन भोटिङ प्रणालीबारे सम्भाव्यताको खोजी गरिने उल्लेख गर्नुभएको छ ।

पन्तले संघको चालु परियोजनाको निरन्तरता, समापन र हस्तान्तरणलाई उच्च प्राथमिकतामा राख्ने घोषणागर्नुभएको छ । उहाँले भूतपूर्व ब्रिटिस गोर्खाहरूका मागका पक्षमा उभिने प्रतिबद्धता जनाउँदै गैरआवासीय नेपालीका समस्या, चासो र सरोकारलाई सम्बोधन गर्न राजनीतिक नेतृत्वसँग नियमित सम्पर्क र प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापनाका लागि प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

पन्त सन् २००४ यता एनआरएनमा कुनै न कुनै भूमिकामा सक्रिय रहनुभएको छ । २००४ मा एनआरएन जर्मनी हिस्सेनका संयोजक रहनुभएका पन्त सन् २००९–११ को कार्यकालमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का सदस्य हुनुहुन्थ्यो । उक्त अवधिमा उहाँ युरोप क्षेत्रको संयोजक रहनुभएको थियो । सन् २०१३–१५ को कार्यकालमा उहाँ एनआरएनको महासचिव बन्नुभएको थियो । सन् २०१५ यता उहाँ लगातर दुई कार्यकाल एनआरएनएको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Comments