मेलबर्न । अष्ट्रेलियामा समर सिजन शुरु भएसँगै बिस्तारै गर्मी बढ्दै गएको छ । गर्मी महिनामा चिसो पानीमा पौडिनुको मज्जा नै बेग्लै हुन्छ । तर पछिल्लो समयमा अष्ट्रेलियामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो वर्षको तथ्यांक अनुसार पानीमा डुबेर मृत्यु हुनेको संख्यामा १० प्रतिशत वृद्धि भएको छ । पछिल्लो १२ महिनामा अष्ट्रेलियामा २३७ जनाले पानीमा डुबेर ज्यान गुमाएका छन् । पानीमा डुबेर नेपालीहरुको समेत मृत्यु हुने दर बढ्दै गएकोप्रति सर्वत्र चिन्ता बढ्न थालेको छ ।

यसरी डुबेर मृत्यु हुने घट्ना बढ्नुमा व्यक्ति स्वयमको लापारवाही र असावधानी प्रमुख कारण मानिएको छ । पौडी खेल्ने कलामा निपूर्ण नभएका र पानीको गहिराईको अन्दाज थाहा नपाईकन पानीमा बस्नेहरु डुबानमा पर्ने गरेका छन् ।

अष्ट्रेलियाको जल सुरक्षा विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार विगत ११ वर्षमा झण्डै ३ हजार बढी पौडी खेल्ने क्रममा डुबेका छन् । यसको अर्थ हरेक वर्ष औसतमा २८३ जनाले पौडी खेल्ने क्रममा ज्यान गुमाउने गर्दछन् ।

प्रतिवेदन अनुसार मद्यापान गरेर वा लागू औषध सेवन गरेर पौडिने व्यक्तिहरु बढी डुबेर मृत्यु हुने गरेको पाइएको छ । पौडिने क्रममा डुबेर मृत्यु हुने ३४ प्रतिशत यस्ता व्यक्तिहरु हुने गरेको बताइएको छ ।

जल सुरक्षा विभागले पौडी खेल्न जाँदा सावधानी अपनाउन र आफ्नो सुरक्षाको बारेमा विशेष ख्याल गर्न अपिल गरेको छ ।
सुरक्षाका लागि पौडी खेल्न जानुअघि यी कुराहरुमा विशेष ध्यान दिन भनिएको छ :

१  सधैं रातो र पहेंलो झण्डाको बीचमा मात्र पौडनुहोला ।

२ समुद्री तटको किनारामा राखिएका सूचना र चिन्हका बारेमा राम्ररी पढेर र बुझेर मात्र पानीमा पस्नुहोला ।

३ पानीमा पस्नु भन्दा अघि लाइफगार्ड र लाइफ सेभरहरुसँग सुरक्षा सम्बन्धी आवश्यक परामर्श लिनुहोला ।

४ साथीसँग मात्र पौडी खेल्नुहोला । पानीमा एक्लै पस्नु वा पौडनु भन्दा साथी लिएर मात्र पौडिनु बुद्धिमानी मानिन्छ । अझ बालबालिकाहरुलाई त एक्लै कहिल्यै पानीमा पस्न नदिनुहोला ।

५ केही गरि पानीमा डुबिहाले नआत्तिनुहोला । बरु टाउको भन्दा माथि हात उठाएर लाइफगार्ड वा अरु व्यक्तिको ध्यान तान्ने कोशिस गर्नुहोला ।

६ मद्यपान वा कुनै औषधि सेवन गर्नुभएको छ भने पानीमा पस्दै नपस्नुहोला ।

७ पौडिन पानीमा पस्दा सन ग्लास अनिवार्य लगाउनुहोला । साथै पानी निल्नबाट जोगिनुहोला ।

८ लोकल मौसम पूर्वानुमान शाखाले गरेको मौसमको भविष्यवाणीलाई अवश्य मान्नुहोला ।

९ यदि कुनै व्यक्ति डुबिरहेको देख्नुभयो र तपाई सहयोग गर्न असमर्थ हुनुहुन्छ भने ट्रिपर जेरो नम्बरमा इमर्जेन्सी खबर गरिदिनुहोला ।

Comments