तिहारको पाँचौं दिनमा भाइटिका पर्दछ । भाइटिकामा दिदी बहिनीले दाजुभाइलाई टीका लगाईदिई मीठा परिकार खान दिने चलन छ । परिकारमा सबैभन्दा पहिले भाइमसला पर्दछ ।

बजारमा भाइमसलाको प्याकेट अहिले सजिलै संग पाउन सकिन्छ । तर त्यो भाइमसला गुणस्तरीय, स्वस्थ र आफूले चाहेको अनुसार नहुन पनि सक्छ । भाइमसला घरमा सजिलैसंग बनाउन सकिन्छ । र, आफूले बनाएको मसला बजारको प्याक गरिएको मसला भन्दा स्वस्थ र चाहे अनुसारको हुन्छ ।

भाइमसलाको लागि पूरानो चलन अनुसार, ओखरको भित्रि भाग र नरिवललाई घ्युमा भुट्ने गरिन्छ । यसरी भुट्दा चिनी पनि राख्नुपर्छ । तावामा केही छिन भुटेपछि यो मीठो मसला बन्छ । त्यो मसला बनिसकेपछि, त्यसमा काजु, बदाम, चकलेट, ल्वाङ्ग, सुकमेल आदि आफूले चाहे अनुसारको ड्राई फ्रुट्स राखेर दाजुभाइलाई दिन सकिन्छ । घ्युमा भुटेको मसला मन पर्दैन भने ड्राई फ्रुट्स, ल्वाङ्ग, सुकमेल, थोरै मिस्रि र चकलेटलाई मिक्स गरेर दिन सकिन्छ ।

Comments