काठमाडौं । नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको एकदिवसीय क्रिकेटमा नेपालले जित निकालेको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले एमसीसीलाई ५ विकेटले पराजित गरेको हो । एमसीसीले दिएको २ सय २ रनको लक्ष्य नेपालले ३७ ओभर ३ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा विनोद भण्डारीले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पवन सर्राफ ३८ रनमा अविजित रहे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन बनाएको थियो । एमसीसीका विल रोड्स र विलि गोडलम्यानले अर्धशतकीय इनिङ्स खेले । रोड्सले ५४ रन जोड्दा गोडलम्यानले ५२ रन बनाए । नेपालका पवन सर्राफ र ललित नारायण राजवंशीले समान ४÷४ विकेट लिए । करण केसी र अविनास बोहराको नाममा १÷१ विकेट रह्यो ।

अब नेपालले एमसीसीसँग तीन दिवसीय खेल खेल्नेछ । तीन दिवसीय बुधबार सुरु हुनेछ । यसअघि आइतबार एमसीसीले नेपाली अन्डर १९ टोलीलाई ३८ रनले पराजित गरेको थियो ।

Comments