काठमाडौं । १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भारत सहभागी नहुने भएको छ ।

आइतबार औपचारिक रुपमै इन्डियन ओलम्पिक एसोशिएसन ९आईओए० ले काठमाडौंमा हुने पुरुष फुटबलमा सहभागी नहुने जानकारी गराएको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले प्रष्ट पारेको छ ।

दक्षिण एसियाली क्षेत्रको सबैभन्दा बलियो टोली भारतले सागमा अहिलेसम्म खेलेका १२ संस्करणमध्ये ३ मा स्वर्ण जितेको छ ।

तर, पछिल्लो २४ वर्षदेखि भारत सागमा स्वर्णविहीन टोलीका रुपमा रहेको छ । आफ्नै भूमिमा सम्पन्न सागमा सातौं सागमा स्वर्ण पदक जितेको भारतीय फुटबल टोली त्यसयता बलियो बन्दै गए पनि सागमा भने स्वर्ण जित्न सकेको छैन् ।

यद्यपि भारत सागमा हुँदा र नहुँदाको माहौल भने छुट्टै हुने गरेको नेपाली फुटबलका जानकारहरु बताउँछन् । उनीहरुको मान्यता छ कि भारत मात्रै यस्तो टोली हो, जोसँग खेल्ने दक्षिण एसियाली देशहरुले यस्तै ठूला प्रतियोगिता कुर्नु पर्दछ ।

नेपाली टोलीका पूर्व खेलाडी तथा राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक राजुकाजी शाक्य विश्वकपमा ब्राजिल, अर्जेन्टिना र जर्मनी नखेल्नु र सागमा भारत नखेल्नु एउटै हुने बताउँछन् ।

‘भारत बलियो टोली हो । यसमा उसले खेल्दा माहोल छुट्टै हुन्छ । विश्वकपमा ब्राजिल, अर्जेन्टिनाहरुले नखेल्नु र सागमा भारतले नखेल्नु एउटै कुरा हो,’ शाक्य भन्छन्, ‘भारतलाई नेपालीले मन पराउँदैनन् । त्यसैले पनि नेपालले भारतसँग खेलेको हेर्न रुचाउँछन् ।’

भारतले दोस्रो ढाका, तेस्रो कलकत्ता र सातौं मदरासमा भएको सागमा स्वर्ण जितेको थियो । त्यसयता भने भारत सागमा च्याम्पियन बन्न सकेको छैन ।

सागमा भारत सहभागी हुँदा नेपालका लागि उसको डर रहन्थ्यो । तर, यो संस्करणमा भारत सहभागी नहुने भए पछि नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्नै पर्ने दबाव रहनेछ ।

आफूभन्दा बलियो टोली प्रतियोगितामा सहभागी नहुने भए पछि नेपालका लागि माल्दिभ्स र बंगलादेशले चुनौती प्रस्तुत गर्न सक्नेछन् । तर, यी दुवै टोली तुलनात्मक रुपमा नेपालभन्दा कमजोर मानिन्छन् । यस क्षेत्रमा भारतपछि नेपाल बलियो टीम मानिन्छ ।

१२ औं संस्करणमा भारतले खेलेको खेलमा उसलाई उसैको मैदानमा पराजित गरेको नेपाली फुटबल टोलीलाई लगातार दोस्रो संस्करण जित्ने अवसर रहेको छ । तर, भारतविनाको प्रतियोगितामा खेलेर स्वर्ण जित्दा यसअघिको माहोल भने हुने छैन ।

Comments