पछिल्लो समयमा धेरै नेपाली युवाहरुको आकर्षण स्थल बनेको छ अष्ट्रेलिया। पढाई र कमाई दुबैका लागि उपयुक्त मानिन थालेको अष्ट्रेलिया सोचे जस्तै छ त ? अष्ट्रेलियामा के छ ? के छैन ? जिन्दगी कस्तो छ ? भविष्य के छ ? अष्ट्रेलियाबाट के अपेक्षा गर्ने ? अष्ट्रेलियाका ५ वर्ष देखि बस्दै आएका मुक्ति रिजालको मर्मस्पर्शी भोगाइ। अष्ट्रेलिया जान चाहनेहरुलाई एउटा सहयोगी हुने ठानि प्रकाशन गरिएको छ ।

विदेश जाने रहर तीब्र थियो। ।संगै पढेका साथी भाई पनि विदेश जाँदै थिए। जसरीपनि विदेश जान्छु भन्ने मलाई परिसकेको थियो। स्नातकसम्म नेपालमै सकेपनि स्नाकोत्तर(मास्टर) चैं विदेशमै गएर पढ्छु भन्ने अठोट लिएको थिएँ। बस त्यही चाहना र इच्छाले अष्ट्रेलियासम्म डोर्यायो। पहिले अष्ट्रेलया नै आउँछु भन्ने थिएन। तर विदेश जान्छु भन्ने मनमा थियो। आफूसंग स्कुल, प्लस टु पढेका नाता गोता, साथीभाइ विदेश गएको देखेपचि मलई पनि भित्र भित्रै विदेश त नगइ नहुने रहेछ भन्ने परेको थियो। पहिले अमेरिका जाने सोचेको थिएँ तर समय र परिस्थितिले अष्ट्रेलिया मोडिइयो।

*************************

विदेश गएपछि आन्नद होला । धेरै दुख गर्नु पर्दैन । कमाइन्छ। पढिन्छ।मोजमस्ती गरिन्छ । सोच्दै एककिसिमको ‘प्राउड’ फिलिङ हुन्थ्यो। ।मेरो बस यही अपेक्षा थियो। मिडिल क्लास परिवारका कारण पनि धेरै सुख सुविधाको पाइने तृसनामा डुबेको थिए। जब भिसा लाग्यो, अष्ट्रेलिया गएर कसरी पढ्ने होला ? पैसा कमाएर जान लागेको ऋण तिर्न सक्छु कि सक्दिन भन्ने टेन्सन भने नजानिदो पाराले बढेको थियो।

*************************

एअरपोर्टमा झर्ने बितिकै त निराशनै भए। पहिलोपटक परिवार छोडेर आएको त्यो पनि सात समुन्द्रपारी । सिड्नीका रमाइलो देखेपछी भने यहाँ टिक्न सक्छु कि सक्दिन भन्ने अर्को चिन्ता थपियो।

बस्ने ठाउँ नेपालबाट आउँदै मिलाएको थिएँ। साथी लिन आयो। घरमा लिएर गयो। दोस्रो दिन साथीले युनिभर्सिटी लिएर गयो।एउटा साथीले गर्न सक्ने बस त्यति थियो। भोली देखि सबै आफै गर्नु थियो। कसरी गर्ने भोली देखि एक्लै। भोली देखी जिन्दगीमा एक्लै संघर्ष गर्नु पर्नेथियो। ट्रेन यात्रा कसरी गर्ने ? कसरी बाटो पहिल्याउने ? के खाने ? कसरी खाने ? कुरा साना भएपनि रनभुल्लमा पार्न पर्याप्त थिए। मेरोलागि त संसारै अर्को थियो। बिल्कुल फरक हावापानी। नयाँ देश, नयाँ सस्कृति।

*************************

तर जिन्दगी अघि बढ्दै गयो र यस्ता ससाना कुरा सहज हुँदै गए। जब साह्रै गाह्रो हुन्थ्यो। यति सहजै हार मान्न हुन्न। म अहिलेनै फर्कन हुन्न। यत्रो ऋण बोकेर आएको छु । जसतोसो दुख गर्नु पर्छ यही सेटल हुनु पर्छ । यस्तै कुरा सधै मनमा राख्थे। भाडा तिर्नु पर्ने, ऋणको ब्याज तिर्नु पर्ने, अनि युनिभर्सिटीको फी पनि -जिन्दगी कम्ति सकसपुर्ण भने थिएन।

शुरु शुरुमा भाषाको समस्या पनि थियो। अंग्रेजी जान्ने भए पनि यहाँको टोन मिलाउन गाह्रो भयो। बढो संघर्षले महिना दिनमा एउटा कामको जोहो भयो। अष्ट्रेलियामा काम पाउन भने सजिलो रहेनछ। साथी भाइ र चिनजान नभई त निकै गाह्रो हुँदो रहेछ । काम त पाइयो तर त्यो नेपालमा मजदुर गर्ने भन्दा माथिल्लो थिएन। एउटा पाठ चैं राम्रो सिकियो-काम सानो ठुलो हुन्न भन्ने। शुरुका दिनमा कति दिन त भोकै र बिना पैसा पनि काम गरियो। मैले दशौं दिन सम्म बिना पैसा ट्रेनिङ गरेर फेरी पनि काम नपाई फर्किएको सम्झना अहिले पनि मानसपटलमा ताजै छ ।

*************************

अष्ट्रेलियाको पढाई कठिन हो। काम गरेर पढ्नु पर्दाको तनाव । काम नगरी पढ्न पाउने हो भने त पढाइ व्यवहारिक छ। पढाइको रिसोर्स टन्नै पाइन्छ। नेपालमा चोरेर होमवर्क सारिन्थ्यो। चोरिन्थ्यो। त्यसको असार के हु्न्छ भन्ने सोचिन्थ्यो। तर यहाँ असाइनमेन्ट गर्दा सारे नसारेको कडा चेक हुने हुनाले इन्डेपेन्डेन्सी बढ्छ, रिसर्चको क्षमता बढ्छ। आफूलाई राम्रोसंग प्रस्तुत गर्न सक्ने मानिसले यहाँ पढाइमा राम्रो गर्ने सक्ने संभावना हुन्छ। नेपालमा राम्रो पढाइ भएको जो सुकैलाई यहाँ पढ्न गाह्रो नहुने मेरो अनुभव छ। तर काम गरेर पढ्दा कति समय दिन सकिन्छ भन्ने ठुलो चुनौतीको विषय हो। काम गरेर पढ्नु भनेको सहज कुरा पटक्कै होइन। तर मैले भने राम्रै ग्रेडिङ सहित पास गरे। तर यदि काम गर्न नपरेको भए अझ राम्रो गर्न सक्ने थिए। पढाइकै बीचमा एक चोटी त सस्तो कलेजमा सरेर पैसा जोगाम भन्ने पनि मनमा आएको थियो। फेल हुने बितिकै फेरी पैसा तिर्नु पर्ने हुन्थ्यो, घरमा ऋणको ब्याज पठाउउनु पर्ने बाध्यता, कामको तनाव। रातीको काम गर्थे । निकै दु:ख गरेर फी तिरिन्थ्यो तर घरमा भने दुख कहिलै देखाइन। यसरी पढ्दा बेला बेलामा फ्रस्ट्रेसन त हुन्थ्यो तर आफूलाई सम्हाल्दै गए।

पढेर पास भएपछि पिआारको अर्को चटारो शुरु भयो। जब पीआार लिइयो। अष्ट्रेलियाको बसाइको एउटा स्टेज पार भयो।

*************************

फर्केर हेर्दा;

यी वर्षले अनगिन्ती कुरा सिकायो। काम भनेको जे पनि गर्दा हुन्छ। काम सानो हुँदैन्। अष्ट्रेलियामा जे सुकै गर। जे काम गरे पनि रेसपेक्ट भने पाइन्छ। डु अर डाइ परिस्थतीमा पनि बाँच्न सिकियो। टाइम म्यानेजमेन्ट पनि सिकियो। धैर्यता पनि यी वर्षले खुब सिकायो। मेहेनत पनि खुब गरियो।

*************************

अष्ट्रेलिया भनेको मल्टि कल्चर्ड देश हो, यहाँ जुनसुकै देशका मान्छेलाई स्वागत छ। सुरक्षा छ।सम्मान छ । आफ्नो जीवन कस्तो बनाउने आफ्नै हातमा छ। तर संघर्षको अन्त्य भने कहिल्यै हुदैन्। प्यासेन्स, टाइम म्यानेजमेन्ट र हार्डवर्किङ तीन कुरालाई ब्यालेन्स गरेर गइयो भने जिन्दगी सहज बनाउन सकिन्छ ।

नेपाल सम्झदा मलाई के लाग्छ भने हामी एकदमै अल्छी रहेछौ। फलानाले यस्तो गर्यो भन्ने, उस्तो गर्यो भन्ने। तर आफू कहिल्यै काम नगर्ने। सपना देख्ने हामी ड्रिमर मात्र हो कि। अष्ट्रेलियाले सपना पुरा गर्न पनि सिकाउँछ । काम नगरी खाने, ठगेर खाने यहाँ वातावरण नै छैन्। खुराफातीले यहाँ जीवन चल्दैन।

*************************

विदेश आउनु पर्छ । विदेश जानु पर्छ । आफ्नो लक्ष्य पुरा गर्नु पर्छ।भोगाईले मानिसलाई सशक्त बनाउँछ, दरिलो बनाउँछ। पछी आफ्नो देश फर्कदा पनि धेरै सीप र अनुभव लिएर फर्कन पाइन्छ। तर यता आएर आफ्नो पढाइ भने छोड्नु हुन्न। यता आएर पढाइ छोड्ने, काम मात्र गर्ने र पैसा कमाउने सोच बनाउँदा करियर राम्रो दिशा तर्फ जाँदैन्।

 

Comments