सिड्नी-झापाली समाज अस्ट्रेलियाले सिड्नीको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा चौंथो अधिवेशन सम्पन्‍न गरेको छ। सो अधिवेशनले उमेश पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ।

साथै अधिवेशनबाट उपाध्यक्षमा अशोक ओली, महासचिवमा अशोक उप्रेती, सचिवमा मदन धोराली तथा कोषाध्यक्षमा नविन थपलिया निर्विरोध निर्वाचित भएका छन्।

साथै अधिवेशनले सदस्यहरूमा प्रज्ञान श्रेष्ठ, अमित श्रेष्ठ, राजकुमार गोस्वामी, सोनु पुडासैनी, मोनिका भण्डारी र सागर पराजुलीलाई चयन गरेको छ । गत शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश राज दाहालले नवगठित कार्यसमितिका पदाधिकारीहरूलाई खादा लगाएर सम्मान समेत गरेका थिए।

प्रमुख अतिथि दाहालले झापाली समाज अस्ट्रेलियाले प्रवासमा बसेर देशको विकासमा झापाली समाज अस्ट्रेलियाले गरेको योगदानको तारिफ गर्दै विदेशमा सिकेका सीप र ज्ञानलाई नेपालको बृहत्तर विकासका लागि प्रयोग गर्नपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा न्यूसाउथवेल्सका लागि महावाणिज्यदूत दीपक खड्काले प्रवासमा रहेका सबै नेपालीले झापाली समाज अस्ट्रेलियाले गरेका परोपकारी तथा विकासका कार्यक्रमहरूबाट सबैले पाठ सिकेर अनुकरण गर्नुपर्ने बताउँदै एकतामा नै बल हुने हुनाले प्रवासी सबै नेपालीहरू एकताबद्ध भएर देश विकासमा हात जुटाउनुपर्ने बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष दीपक चुडालले आफ्नो कार्यकालमा गरिएका सामाजिक कार्यहरूको विवरण पेश गरेका थिए।

संस्थापक अध्यक्ष दिनेश पोखरेलले विगत ६ वर्षमा झापाली समाज अस्ट्रेलियाले परोपकारी कार्यहरूमा करिब १ लाख अस्ट्रेलियन डलरभन्दा बढी खर्च गरिसकेको उल्लेख गर्दै नवनिर्वाचित कार्यसमितिले उत्कृष्ट व्यक्तिलाई नै अध्यक्षका रूपमा प्राप्त गरेकोमा सबैले गर्व गर्नुपर्ने बताएका थिए।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष दीपक खनालले संस्थाले गरेका विविध परोपकारी कार्यहरू उल्लेख गरेका थिए।साथै एनआरएनएका उपाध्यक्ष तथा न्यूसाउथवेल्स संयोजक देव गुरूङले शुभकामना दिएका थिए भने नवनिर्वाचित अध्यक्ष उमेश पोखरेलले अस्ट्रेलियाभर छरिएर रहेका झापालीहरूलाई एकताको सूत्रमा बाँधेर झापाको बृहत्तर विकासमा लागिपर्ने कुरा बताएका थिए।

विविध मनोरञ्जनात्मक तथा सांस्कृतिक प्रस्तुतीहरू समेत पेश गरिएको कार्यक्रममा नेपाली समाजका अगुवाहरूका साथै सिड्नीवासी नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमलाई समाजका महासचिव अशोक उप्रेतीले सञ्चालन गरेका थिए।

Comments