काठमाडौं । पछिल्लो तीन महिनामा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत् १० अर्ब बढी रुपैयाँ विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विदेश विदेशमा अध्ययन गर्न जाने विद्यार्थीमार्फत् १० अर्ब ३४ करोड रुपैयाँ विदेशिएको छ । गत आर्थिक वर्ष २०७५–७६ मा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट ४६ अर्ब ३२ करोड रुपैयाँ नेपालबाट बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७४–७५ मा यो रकम ३८ अर्ब ८ करोड रहेको थियो ।

मङ्सिर पहिलो साता इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी व्युरोले सार्वजनिक गरेको सन् २०१९ को अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान तथ्याङ्कसम्बन्धी ओपन डोओर्स प्रतिवेदनमा शैक्षिक सत्र २०१८/१९ मा १३ हजार २ सय २९ नेपाली विद्यार्थी अमेरिकामा अध्ययनरत देखाएको थियो । उक्त वर्ष उनीहरूले अमेरिकालाई ४८ करोड ८७ लाख ९५ हजार ८ सय ७२ अमेरिकी डलर अर्थात करिब ५५ अर्ब २३ करोड रुपैयाँ बुझाएका थिए ।

सन् २०१९ को अगष्टमा स्टडी पोर्टल्सले सार्वजनिक गरेको ‘द ग्लोबल इम्प्याक्ट अफ इन्टरनेसनल स्टुडेन्ट्स’ प्रतिवेदनका अनुसार नेपालबाट ठूलो रकम अष्ट्रेलिया पनि जाने गरेको देखाइएको छ । उक्त प्रतिवेदनअनुसार सन् २०१६ मा १४ हजार ७ सय १२ नेपाली विद्यार्थीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ९८ अर्ब रुपैयाँ अष्ट्रेलियालाई बुझाएका थिए ।

Comments