काठमाडौं । उर्जामन्त्री र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीलाई लक्षित गरी सोमबार बम विष्फोट भएको छ ।

फुकोड कर्णाली हाइड्रोको अनुगमनका लागि कालिकोटको रास्कोट पुग्नुभएका उर्जामन्त्री बर्षमान पुन र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी सोमबार दुइवटा बम विष्फोट भएका हुन् ।

हेलिकप्टर मार्फत कालिकोट पुगेका उर्जा मन्त्री पुन र मुख्यमन्त्री शाही रास्कोट नगरपालिका शान्तिघाट कार्यक्रममा सहभागि हुन जानुभएको थियो ।

रास्कोट नगरपालिका प्रमुख कासीचन्द्र बरालले कार्यक्रम स्थलभन्दा एक किलोमिटर परको जङ्गलमा बम विष्फोट भएको
बताउनुभयो । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले गराएको हुनसक्ने अनुमान गरिएको छ ।

विष्फोटबाट कुनै क्षति भने नभएको अध्यक्ष शाहीले बताउनुभयो ।

फुकोड कर्णाली हाइड्रोको अनुगमन कार्यक्रममा उर्जामन्त्री बर्षमान पुन, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, प्रदेशसभा सदस्य कुमराज शाही, नेकपा जिल्ला अध्यक्ष धनजित शाही र सचिव नगिन्द्र शाही शाही लगायत स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेको थियो ।

यसअघि पनि जेठ १५ गते पलाँता गाउँपालिकामा र पचालझरना गाँपालिकामा जादा, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर बम विष्फोट भएको थियो ।

Comments