काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा नेपालले भुटानलाई ४– ० गोल अन्तरले पराजित गरेका हो । नेपालको जितमा कप्तान सुजल श्रेष्ठले दुई गोल गरे । यस्तै अविशेक रिजाल र मिक्छेन तामाङले एक एक गोल गरे ।खेलको पाँचौं मिनेटमा सुजलले गोल गर्दै नेपाललाई अग्रता दिलाए । ५१ औं मिनेटमा सुजलले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । खेलको ६६ औं मिनेटमा अविशेकले गोल गर्दै नेपालको अग्रता ३–० को बनाए । यस्तै ७८ औं मिनेटमा मिक्छेनले गोल गर्दै नेपाललाई ४–० को शानदार जित दिलाए । जितसँगै नेपालले १ खेलमा ३ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा भने नेपालले रजत पदकमै चित्ता बुझाएको छ ।

स्वर्णको लागि आज भएको फाइनलमा नेपाल भारतसँग ३—२ को सेटमा पराजित हुँदै ऐतिहासिक स्वर्णबाट बन्चित भएको हो । भारतलाई हराएको भए नेपालले भलिबलमा इतिहास रच्ने थियो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको रोमान्चक खेलमा पहिलो सेट भारतले २५—१७ ले जितेको थियो । तर, दोस्रो र तेस्रो सेट नेपालले २५-२३ र २५-२१ ले जित्दै स्वर्णको आशा जिवित बनाएको थियो ।चौंथो सेट भारतले २५—२० ले जित्दै खेल २-२ सेटको बराबरीमा ल्याए । त्यसपछि खेलको अन्तिम सेट १५—६ ले गुमाउदै नेपाल ऐतिहासिक स्वर्णबाट बन्चित भएको हो । १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा अहिलेसम्म नेपालले २४ स्वर्ण पदक जितेको छ ।

यस्तै भारतले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलमा पनि स्वर्ण पदक जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको फाइनलमा पाकिस्तानलाई ३—१ को सेटमा पराजित गर्दै भारतले स्वर्ण जितेको हो । पहिलो सेट पाकिस्तानले जितेपनि भारतले खेलमा पुनरागमन जनाएको थियो । पाकिस्तानले पहिलो सेट २०–२५ ले जितेको थियो ।त्यसपछि भारतले लगातार तीन सेट जित्यो ।भारतले २५–१५, २५–१७ र २९–२७ को सेटमा जित निकालेको हो । नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।

Comments