काठमाडौं । दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा नेपाल र श्रीलंका बिचको खेल एक एक गोलको बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा नेपालले एक गोलको अग्रता जोगाउन सकेन । खेलको सुरुवातमा केहि सुस्त देखिएको नेपालले त्यसपछि आफ्नो स्पिडलाई बढाउदै दुई वटा सुन्दर मौका पाएको थियो । तर त्यसमा चुक्न पुग्यो । खेलको ३३ औं मिनेटमा नेपालले पेनाल्टीको अवसर पाएको थियो । अनन्त तामाङलाई श्रीलंकन खेलाडीले फल गरेपछि पाएको पेनाल्टीलाई कप्तान सुजल श्रेष्ठले गोलमा परिणत गरे । ४२ औं मिनेटमा नेपालले अर्को मौका पाएको थियो । नेपालका मिक्चेनले गोलकिपर विट गरेर प्रहार गरेको बललाई श्रीलंकाका खेलाडीले बचाए । त्यसको अर्को मिनेटमा नेपालले फेरी अर्को गोलको अवसर सिर्जना गर्यो । कप्तान सुजल श्रेष्ठको हेडको प्रयास पोष्ट नजिकैबाट बाहिरीयो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफका सुरुवातमा नै अर्को मौका पाएको थियो । ४९ औं मिनेटमा अभिशेख सिजालको कर्नरमा विक्रम लामा चुक्न पुगे ।

त्यसपछि श्रीलंकाले एउटा डरलाग्दो प्रहार गरेपनि नेपाली गोलकिपर विकेश कुथुले बचाए । ८३ औं मिनेटमा नेपालले अर्को सुन्दर अवसर पाएको थियो । जसमा अनन्त तामाङ डिबक्स भित्र चुक्न पुगे । एक गोलले पछि परेको श्रीलंकाले खेलको इन्जुरी समयमा गोल फर्काउन सफल भयो । श्रीलंकाले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्यो । आजको बराबरीपछि नेपालले दुई खेलमा चार अंक पाएको छ ।

Comments