काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को आज साँझ भव्य समारोहबीच समापन हुँदैछ।

मङ्सिर १५ गतेबाट औपचारिक रूपमा सुरु भएको सागमा नेपाल, भारत, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान र बंगलादेशका खेलाडी सहभागी छन्। सागको सदस्यमध्ये अफगानिस्तानले यस पटकको सागमा भाग लिएको थिएन।

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं सागको समापन समारोहलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्ने कार्यक्रम छ। अस्वस्थका कारण प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि प्रधानमन्त्री निवास बालुवाटारबाट उहाँले भिडियो कन्फरेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्न लाग्नुभएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा १३औं साग मुल आयोजक कमिटिका सदस्यसचिव रमेशकुमार सिलवालका अनुसार समापन समारोहअघि ३ बजे नेपाल र भुटानका पुरुष टोलीबीचको फुटबल फाइनल खेल रङ्‍गशालामा हुनेछ। त्यसअघि दिउँसो १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटबल खेलाइनेछ। फुटबलको फाइनल सकिएलगत्तै झण्डै डेढ घण्टाको समापन समारोह हुनेछ। समापन समारोहमा प्रमुख अतिथि उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, दक्षिण एसिया ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र सदस्यसचिव सिलवालले मन्तव्य राख्नेछन्।

यसबाहेक सबै टोलीको मार्चपास, आगामी संस्करणको आयोजक पाकिस्तानलाई झण्डा हस्तान्तरण, पाकिस्तानको प्रस्तुति र त्यसपछि साँस्कृतिक कार्यक्रम तथा आतिशबाजी हुने सदस्यसचिव सिलवालले जानकारी दिनुभयो ।

सागको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका १८ हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन्। १३औं सागमा ७ देशका ३ हजार २ सय २८ खेलाडी सहभागी छन्। यस पटकको सागमा ६ सय ४८ नेपाली खेलाडी सहभागी छन्। यस पटकको सागमा ३० खेलका विभिन्न प्रतिस्पर्धा काठमाडौं, ललितपुर, कास्की र धनुषाको जनकपुरमा गरिएको थियो। १३औं सागमा खेलाडीबाहेक आयोजक प्रतिनिधि, निर्णायक मण्डलसहित २ सय ९ जना सहभागी छन्।

Comments