काठमाडौं । आज मंसिर शुक्ल पूर्णिमा, यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । आजका दिन किराँत समुदायले उधौली पर्व मनाउँदैछन् । यस्तै काठमाडौं उपत्यका सहित नेवार समुदायको बाहुल्यता रहेको क्षेत्रमा योमरी पुन्ही र ज्यापू दिवस पनि धुमधामले मनाउँदैछन् ।

खाद्यान्नको अभाव नहोस् भन्दै भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ ।

किराँत समुदायका राई, लिम्बू, सुनुवार र याक्खाले यो पर्व मनाउने गर्दछन् । वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएका किराँत समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको छ ।

यस्तै नेवार समूदायले योमह्री पूर्णिमा मनाउँदैछन् । काठमाडौं उपत्यकाको नेवार समुदायमा ४ सय वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास रही आएको छ ।जाडोको समयमा चामलको पिठोबाट बनेको विशेष परिकारलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।

यस्तै पहाडी समुदायले कुल पूजा र गोठ पूजा गर्ने प्रचलन छ ।

Comments