काठमाडौं । सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सीमा विवाद समाधान गर्न भारतमा विशेषदूत पठाउने कुरा हल्लामात्रै भएको बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री बास्कोटाले विशेष दूत पठाउन लागेको कुरा आफूले पनि मिडियाबाटै थाहा पाएको जिकिर गर्नुभयो । सीमा विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई विशेषदूत बनाएर भारत भ्रमणमा पठाउने कुरा सञ्चार माध्यममा आएको थियो ।

मन्त्री बाँस्कोटाले कालापानीका सन्दर्भमा सत्य स्वीकार्दै अघि बढे भारत सरकारलाई नै फाइदा हुने बताउनुभयो । कालापानीका विषयमा विभिन्न विधि अपनाउनुपर्ने उल्लेख गर्दै उहाँले नेपालले पहिलोपटक ‘डिप्लोम्याटिक नोट’ पठाएको उल्लेख गर्नुभयो । सरकारले सीमा विवाद समाधानका लागि विशेष दूत पठाउन सक्ने भए पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रिएका कारण ढिलाई भएको बास्कोटाको भनाइ थियो । मन्त्री बास्कोटाले भारतले सीमा अतिक्रमण गरेको लिपुलेक र कालापानीको मात्रै नभएर लिम्पयाधुराकै विषयमा प्रश्न खडा भएको बताउनुभयो ।

बास्कोटाले सीमा स्तम्भ राख्न बाँकी रहेका ठूला नदीहरुमा नेपाल र भारत दुबैले संयुक्त रुपमा राख्नुपर्नेमा जोड दिनुभयो ।

Please follow and like us:

Comments