काठमाडौं । नेपाली काँग्रेसले माघ १६ गतेदेखि तेस्रो चरणको जागरण अभियान सुरु गर्ने भएको छ ।

आज बसेको केन्द्रीय समितिले माघ १६ गतेदेखि २५ गतेसम्म ७५३ स्थानीय तहमा केन्द्रिय अभियान चलाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काँग्रेसले यसअघि सकेको ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीय जागरण अभियानबारे पनि समीक्षात्मक कार्यक्रम गर्ने भएको छ । जागरण अभियानमा खटिएका केन्द्रिय प्रतिनिधिसँग सातै प्रदेशमा छलफल कार्यक्रम आयोजना गरिएको हो । प्रदेश नम्बर १ को धरान, २ को जनकपुर, ३ को भरतपुर, गण्डकीको दमौली, प्रदेश नम्बर ५ को तौलिहवा, कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशको महेन्द्रनगरमा कार्यक्रम हुने मुख्य सचिव पौडेलले बताउनुभयो । पुसमा हुने भनिएको कार्यक्रमको मिति भने तोकिएको छैन । आज बसेको बैठकमा सभापति शेरबहादुर देउवाले विभाग थप गरि गठन गर्ने प्रस्ताव गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने रुष्ट बन्नुभएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले इतर समूहको माग अनुसार महाधिवेशनको एजेण्डालाई छलफलको विषय बनाउन नमानेपछि पौडेल र सिटौला समूहले आजको बैठक बहिष्कार गर्नुभएको थियो । बैठक बस्नुअघि भएको शीर्ष नेताहरुबीचको छलफलमा संस्थापन इतर समूहले महाधिवेशनको एजेण्डा बैठकमा पेस गरिनुपर्ने र महाधिवेशनको कार्यतालिका बनाएर अगाडि बढ्नुपर्ने माग राखेको थियो । तर महाधिवेशनको एजेण्डा ल्याउने प्रस्ताव गरिएपनि विभाग गठनलगायतका अनेक कुरा ल्याएर महाधिवेशनको विषयलाई एजेण्डा नै नबनाउने देखिएकाले बैठक बहिष्कार गरिएको नेता नवीन्द्रराज जोशीले बताउनुभयो ।

काँग्रेसको केन्द्रीय समिति बैठक मंसिर २९ गते पुनः बस्नेछ ।

Comments