वर्ग भनेको हुनेहरु र नहुनेहरुको हो । आफ्नोे भाषामा जीवन चलाउन पाउने र चलाउन नपाउनेहरुबीचको समस्या हो । राम्रोसँग खान पाउनु या नपाउनुको फरकमात्रै वर्ग होइन रहेछ । सम्मानपूर्वक पुरुषजसरी बाँच्न पाउनु पर्‍यो ।

यसरी हेर्दा आजका मानिसको सुखदुखलाई हेर्ने हो भने वर्गको कथा कहाँबाट सुरु भयो त्यहीं पुग्नुपर्ने रहेछ । वर्गविन्यासको इतिहासको कुरा गरौं भन्दा अहिलेको कुरा गरौं इतिहासको कुरा किन गर्नु ? भन्ने मान्छे पनि भेटाएको छु । त्यो बेला इतिहासको कुरा नगरौं भन्ने मान्छेहरुलाई फेरि भन्न मन लागिहाल्छ आफ्नो उमेरको कुरा नगरेर कसरी वर्तमानको कुरा गर्ने ? इतिहास कसरी बन्यो भन्नेबारे कुरा नगर्ने हो भने केही पनि हुँदैन ।

यही फेस्टिबलकै अघिल्लो संस्करणमा मेरो बोल्ने विषय जंगबहादुरको मुलुकी ऐनबारे थियो । तर, कारणवश उपस्थित हुन सकिनँ । अहिले त्यही कुरा जोडेर आफ्नो कुरा अघि बढाउँछु । त्यतिबेलाको ऐनमा प्रत्येक मान्छेका जातका आधारमा उसलाई सजाय तोकिएको छ । फेरि यो जातको कुरा गर्दा कतिपयलाई कानबाट धुवाँ पनि छुट्ने गर्छ । किन यो जातको मात्रै कुरा गर्‍या होला पनि भन्छन् ।

तर, यदि मैले जातको कुरा गर्छु भने त्यो जंगबहादुरले सुरु गरेको हो । यो समाज त जंगबहादुरले नै बनाएको हो । नेपाल यस्तो समाज रहेछ, कि जात नै वर्गको निर्णायक बन्न गएको छ । नेपाली समाज यहाँसम्म आइपुग्दा पनि गर्व निर्माण धनी, गरिबको निर्माणमा सबैभन्दा बढी जातले भूमिका खेलेको छ ।

जब जंगबहादुर राणा, पृथ्वीनारायण शाह वा त्योभन्दा अघिबाट मुख्य समस्या जमिन थियो । जमिन नै सम्पत्तिको मुख्य स्रोत थियो । त्यो जमिन केको आधारमा बाँडियो त भन्दा जातको आधारमा । बिर्ताका आधारमा जमिन दिइन्थ्यो । नेपालमा दलितले कहिले पनि बिर्तामा जमिन पाएनन् ।

मतवाली जातमा नेवार, गुरुङ, मगर राई, लिम्बु, सुनुवार यी बाहेककालाई मासिन्या मतवालीमा राखियो । त्यसबाट उनीहरुले बिर्तामा जमिन पाउनबाट वञ्चित भए ।

नमासिन्याहरु मतवाली जुन छन्, अपवादका रुपमा जमिन पाए । भनेपछि कानूनले व्यवस्था गरेर यो जातजातिका मान्छे गरिब हुनुपर्ने भनेर किटान गरियो । त्यसैले त्यो बेला निर्णायकमा जमिन थियो र जमिन कसको हुने भन्ने व्यवस्थाले नै नेपालमा मुख्य वर्गको निर्माण प्रक्रिया सुरु भयो ।

अर्को फेरि जातीय उत्पीडन भन्ने आएको छ । आज अपराधका जुनसुकै घटना हेरे भने धेरैजस्तो अपराधका घटना आरोपीको नाममध्ये एउटा नाम जरुर तामाङको हुन्छ । पछिल्लो केही वर्षमा एउटा नाम दलितको पनि थपिन सुरु भएको छ । तर, अपराधको कोणबाट हेरे पनि समाजको अवस्था छर्लंग देखिँदोरहेछ ।

यो बलात्कारका घटना हेर्ने हो भने १० वर्षमा धेरै महिला दलित नै भएका रहेछन् । नेपालमा १३ प्रतिशत दलितको संख्या छ । त्यसमध्ये पनि १६ प्रतिशत बलात्कारकै शिकार भएका रहेछन् । ३६ प्रतिशत रहेका जनजाति महिलामा ३२ प्रतिशत बलात्कार भएका रहेछन् । संविधानमा लेखेको भाषामा खसआर्य, त्यसको बलात्कार संख्या भने जम्मा ९ प्रतिशतमात्रै छ । अपराधलाई मात्रै हेर्ने हो भने पनि निश्चित जात व्यवस्था देखिन्छ ।

नेपालमा वर्ग निर्माणको मुख्य कारण एउटा जात व्यवस्था र अर्को जातीय उत्पीडन हो ।
तेस्रोमा छ, क्षेत्रीय उत्पीडन । यो उपेक्षा हो । भेरी नदी पारि र कर्णाली पारि फरक छ । भेरि नदी पारी दमन होइन उपेक्षा गरिएको रहेछ । कर्णाली नदी पारि नियोजित रुपमा दमन नै गरिएको छ ।

मान्छेहरु भन्छन्, कर्णालीको बाहुन र काठमाडौंको दलितबीच पनि फरक देख । यो एकदम सत्य कुरा हो । तर, कर्णालीको बाहुनसँग कर्णालीकै दलितबारेचाहिँ कस्ले बोलिदिने ? त्यो उत्तर त प्रश्नभित्रै कतै हराएको छ ।

अर्कोतिर हिमाली क्षेत्रलाई पनि उत्पीडन गरियो । छिमेकी हो । तर चाडपर्व या रमाइलो जमघटमा बोलाइँदैन । वेवास्ता गरिदिनु मात्रै पनि ठूलो उत्पीडन हो । अर्को भएको छ मधेशमाथि एउटा क्षेत्रीय, अर्को भाषिक साँस्कृतिक । २७ सालभन्दा पहिले सबैभन्दा बढी शिक्षित हुने जिल्लामध्ये सप्तरी पनि हो । तर जब पहाडवादी शिक्षा लागु भयो आजको सप्तरीको शिक्षाको हालत के छ भन्ने थाहा नै छ । कुरा त्यहाँ रंगभेदतिर पनि गयो ।

विगतदेखि यसरी जातीय, क्षेत्रीय उत्पीडन हुँदा नेपालमा वर्ग हुन गयो ।

केही व्यवस्थाहरु यसरी निर्माण भए कि शासकले थाहा नपाइकन वर्ग निर्माणको प्रक्रिया भत्किन पुगेको छ । जस्तो कि पश्चिम नेपालका दलितहरु । उनीहरु अधिकांश जमिन भन्ने कुरा थिएन । उनीहरु मुग्लान जान्थे । मुग्लानमा त दलित भन्ने कुरा भएन । बाहिर गइसकेपछि त सबै नेपाली नै हो ।

त्यहाँ उनीहरुले बाली पनि पाउँथे । नगद पनि पाउँथे । त्यही पैसा जोहो गरेर सम्पत्ति जोड्न थाले । ती दलितको धान खाने खेतैबाट आयो भने त्यो मुग्लानबाटै हो । त्यसले जमिन नहुने भन्ने व्यवस्थालाई थोरै तोडिदियो ।

राणाहरुले केही जातलाई भारतीय सेनामा पठाउने सम्झौता गरे । यो त नेपालीको लागि कति अपमानको कुरा छ कि पैसाका निम्ति अर्काको भाडाको सिपाही भएर बस्नुपरेको छ । गल्लावालले छान्दैछान्दै लैजानुपर्ने, उनीहरुका निम्ति हामी मरिदिनुपर्ने । मरेपछि छात्तिमा तक्मा राखेर भनिदिनुपर्ने, वीर नेपालीहरु ।

तर यसको पनि एउटा उल्टो फाइदा भयो । लाहुरेहरुले नेपालमा विदेशी मुद्रा भित्र्याए । धेरै मोल भएको पैसा नेपाल आयो । त्यसपछि उनीहरुले धरान, भैरहवा, बुटवलमा घर बनाए । त्यो कथा पोखरासँग पनि जोडिन्छ ।

यो देखिने हिमालले मात्रै पोखरा बोकेको छ जस्तो लाग्दैन । फेवातालभन्दा गहिरो लाहुर जानुपर्ने नेपालीको कथाले पनि पोखरा बनेको छ । त्यो लाहुर जाने कथा नेपालको पुरानो जात व्यवस्थाले बनाएको वर्गीय समाजलाई विस्तारविस्तारै काट्दै गयो । एउटा अचम्मकोे तरबार हान्यो । केही सहर त लाहुरेहरुले नै बनाए ।

यदि राणाहरुलाई आज लाहुरे यो स्थानमा आइपुग्छ भन्ने थाहा पाएको भए धरानमा चिटिक्क परेको घर एउटा लिम्बुले बनाउनेछ । पोखरामा कुनै मगर या गुरुङले बनाउनेछ । त्यतिबेला उनीहरुले गोर्खा भर्तीसन्धी गरिँदैन थियो । कानुन गलत थियो । तर, त्यसबाट उल्टै फाइदा पुग्यो । वर्ग संरचनालाई थोरै भए पनि खल्बल्याइदियो ।

सुनारको कथा पनि त्यही छ । लाहुरबाट लाहुरे नगद बोकेर नेपाल आए उनीहरुले सुनको काम गर्ने सुनारलाई सुन बनाउन लगायो । सुनको व्यापार त १२ प्रतिशत हाकाहाक्की भनेरै खान पाइन्छ । त्यसपछि उनीहरुको अवस्था सुध्रियो । सुन त सुनै हो । जसलाई पनि आकर्षित गर्ने । त्यो कामी (म कामी नै भन्छु) लाई कहाँ अधिकार थियो र घर बनाउने ? जंगबहादुरले थाहा पाएको भए उहिल्यै रोकिदिन्थ्यो । जात व्यवस्थाले बनाएको बन्धनलाई लाहुरे प्रथाले केही न केही पद्धतिलाई चर्काइदिएको छ ।

अर्को चाहिँ २ वटा जातले यो वर्ग व्यवस्थालाई नराम्रैसँग छलिदिए । एउटा तराईको कायस्थ, अर्को थकाली ।

थकाली त मासिन्या वर्गमा थियो नि होइन ? तर, अहिले थकाली खानाको रेस्टुरेन्ट देशैभरि छ । उनीहरुलाई फेरि आफ्नो कामका लागि जनसंख्या नै पुग्दैन । सीमानामा बसेर व्यापार गरेजस्तो गर्ने राजा महेन्द्रले नचिनेको थकाली काठमाडौंलाई थाहै नदिई काठमाडौंलाई जितिदयो । त्यतिबेला राणाहरुले थाहा पाउँथे भने अर्कै कुरा हुन्थ्यो ।

तराईको कायस्थ पनि त्यही हो । मुन्सीको काम गर्न राखेको मान्छे नेपाली समाजको पहिलो लहरमा आइपुगेको छ । जात व्यवस्थाले कज्याउन खोजेको कायस्थ आज शिक्षाको घोडा चढेर कहाँ पुगेको छ । त्यतिबेला त मुन्सी बनाएको हो त र मुन्सी बन्न त हिसाब जान्नुपर्‍यो । त्यतिबेला पो शिक्षाको महत्व थिएन, अहिले त छ नि ।

अर्को प्रसंग छ सगरमाथा । युरोपेलीले सुरु गरे एडभेन्चर अर्थात साहसी । नेपाल आए सगरमाथालाई एभरेस्ट नाम दिए । त्यहाँ शेर्पालाई भारी बोकाएर लगियो । हिमालमा त उसकै फोक्सो चाहियो फेरि । त्यहाँ बस्दाबस्दा सबैभन्दा माथिसम्म श्वास फेर्न सक्ने भयो ।

अरुको भारी बोकेर हिमाल चढ्दा चढ्दा शेर्पाको एउटा सानो खलक काठमाडौंदेखि अमेरिकासम्म पुग्यो । त्यसले पनि वर्ग व्यवस्थालाई भत्काइदियो । यो कुनै नेपाली समाजले आफैं भत्काइदिएको त होइन । हिमाल चढ्ने यात्रा अरुले सुरु गरे । तर, फाइदा शेर्पाले लिए ।

अर्को एउटा प्रसंग छ मनाङको ।

माथिल्लो मनाङमा ५ वटा गाविस थिए । अहिले मनाङमा भोट हाल्नु पर्‍यो भने त्यहाँका मान्छे प्लेन वा हेलिकप्टर रिजर्ब गरेर आउँछन् । सबैजसोको काठमाडौंमा घर छ । यो कसरी सम्भव भयो ? यसको गजब कुरा छ ।

२१ सालतिर राजा महेन्द्र सिंगापुर गएछन् । त्यतिबेला नेपालकै अनुहार भएका मान्छे जडिबुटी बेचिरहेको भेटेछन् । उनी फेरि त्यस्ता राजा हुन्, बर्मासम्म पुगेर नेपाली फर्काउने मान्छे हुन् ।

सिंगापुरमा गएर पनि नेपाली अनुहारका भेटपछि खोजीनीति गरेछन् । त्यतिबेला मनाङमुस्ताङका मान्छे भन्ने थाहा भएछ । मस्र्याङ्दी शीरदेखि आएका भनेका रहेछन् । उनीहरुले भनिसकेपछि राजाले नेपाल आउन भनेछन् । तर उनीहरु आउन राजी भएनन् ।

त्यतिबेला उनले व्यापारका लागि कर छूट गर्ने र मस्र्यांदीसम्मको ठाउँ नेपालमा पार्ने गरी सम्झौता भयो । सिकेलालको भाषा नेपालीय भएपछि उनीहरुले भन्सार तिर्नु परेन । अधिकार नपाउँदा त सिंगापुर गएर व्यापार गर्थे भने अधिकार पाएपछि दोहोरो फाइदा भइहाल्यो । त्यहाँबाट माथिल्लो मनाङको जीवनस्तर उकासियो ।

यी उदाहरण भनेको नेपालको शाषण व्यवस्थाले बनाएको वर्ग व्यवस्थालाई घुमेर, छिर्के हानेर, भित्र घुसेर, छिरेर केही न केही बदलिए । तर, अहिलेसम्म वर्ग चरित्र बदलिएको छैन । पत्रिका हेर्‍यो, उही अनुहार हुन्छ । हुँदाहुँदा एनआरएनमा पनि जातीय वर्ग व्यवस्था लागु भइसक्यो ।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलको तेस्रो दिन भएको ‘नेपाली समाजको वर्गविन्यास’ विषयक सेसनमा आहुतिले राखेको विचार

Please follow and like us:

Comments