काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनका दिन देशभर दीपावली गर्न सरकारले आग्रह गरेको छ ।

बुधबार १६ गते (जनवरी १) भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने दिन सबै नेपालीसहित विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली संघ–संस्थालगायत सरोकारवाहरू सबैलाई त्यो दिन दीपावली गरेर उज्यालो बनाउन भनेको हो । भ्रमण वर्ष २०२० को शुभारम्भ तयारीबारे जानकारी दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज पत्रकार सम्मेलन गरी मुलुक उज्यालोतर्फ गएको सन्देश दिन घरघरमा दीपावली गर्न आग्रह गर्नुभएको हो । जनवरी १ मा काठमाडौंस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष शुभारम्भ भएको घोषणा गर्नुहुने कार्यक्रम छ ।

कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने छ । मन्त्री भट्टराईले उक्त दिन सातै प्रदेशमा भ्रमण वर्ष शुभारम्भको तयारी पूरा भएको बताउनुभयो । कार्यक्रममा विभिन्न देशबाट आउने मन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख दलका नेताहरूको पनि मन्तव्य रहने उहाँले जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा धार्मिक र सांस्कृतिक सहितका कार्यक्रम प्रस्तुत हुने मन्त्री भट्टराईले बताउनुभयो ।

Please follow and like us:

Comments