सिड्नी । अष्ट्रेलिया आएका नेपालीहरुमा पछिल्लो समय विभिन्न विचलनहरु देखिदै आएका छन् । पारिवारिक कलह,आत्महत्यादेखि हत्यासम्मका घटनामा वृद्धि हुँदै गएका छन् । नेपालीमा देखिएको यस्तो सामाजिक र नैतिक विचलन बढ्दै गएकोप्रति यहाँका नेपाली समुदाय समेत चिन्तित बनेका छन् ।

यसैक्रममा नाबालिकामाथि यौन दुव्र्यवहारको आशंकामा एक नेपाली युवालाई यहाँको प्रहरीले पक्राउ गरेको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरीले २९ वर्षीय एक नेपालीलाई सिड्नीको पश्चिम क्षेत्रबाट १४ वर्षीया किशोरीलाई गलत नियतले भेट्न खोजेको आरोपमा पक्राउ गरेको हो ।

न्यू साउथ वेल्स प्रहरीका अनुसार गत नोभेम्बर महिनादेखि बालयौन शोषण तथा यौन अपराध विभागका प्रहरीले ती आरोपित व्यक्तिमाथि अनलाइनमार्फत निगरानी गरिरहेका थिए ।

प्रहरीले ती व्यक्तिले १४ वर्षीया किशोरीसँग कुरा गरेको थाहा पाएर निगरानी गर्दा अश्लील सामग्रीहरू पठाएको तथा यौन सम्पर्कका लागि भेट्ने प्रबन्ध मिलाएको आरोप समेत लगाएको छ ।

ती आरोपित नेपाली सिड्नीको वेन्टवर्थभिलमा बस्दै आएका थिए ।

करिब एक महिना लामो निगरानी र अनुसन्धानपश्चात उनलाई गत जनवरी २ तारिख बिहीबारका दिन न्यू साउथ वेल्स प्रहरीको एक टोलीले पक्राउ गरेको हो । पक्राउपश्चात उनी बस्ने युनिटबाट एक ल्यापटप तथा अरू इलेक्ट्रोनिक समग्रीहरू पनि प्रहरीले बरामद गरेको छ । पक्राउपछि प्रहरीले उनलाई पारामाटा प्रहरी कार्यालयमा लगिएका थियो । त्यहाँ उनलाई ‘१६ वर्षभन्दा कम उमेरको व्यक्तिलाई क्यारियर सर्भिसको उपयोग गरेर यौन क्रियाकलापमा संलग्न गराउन खोजेको’ आरोप लगाएको थियो ।

प्रहरीले उनलाई शुक्रबार पारामाटा अदालतमा उपस्थित गराएको थियो । अदालतले उनको जमानत अस्वीकार गरिएको थियो ।

न्यू साउथ वेल्स प्रहरीको ‘बाल शोषण तथा यौन अपराध टोली’ बालबालिका तथा किशोरकिशोरीसँग हुने हिंसा तथा अपराधका घटनाहरू अनुसन्धान गर्नका निमित्त तालिमप्राप्त विशेष टोली हो ।

Comments