काठमाडौं । गत पुस ७ मा काठमाडौंबाट पक्राउ परेका १ सय २२ चिनियाँ नागरिक एक हजार रुपैयाँ जरिवाना तिरेर रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आज एक हजार रुपैयाँ जरिवाना तिराएर छाड्न आदेश दिएको हो । चिनियाँ नागरिकको कुनै कसूर नभेटेको भन्दै अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिलको रायअनुसार चिनियाँ नागरिकले कसूर स्वीकारेकाले एक हजार रुपैयाँ जरिवाना गराउने आदेश दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।

नेपाल र चीनको संयुक्त अपरेशन भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले ७ पुसमा १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुले नेपालमा बसेर अवैध गतिविधि गरिरहेको प्रहरीले दाबी गरेको थियो ।

Comments