नेपालबाट पढाइ तथा करियरको सुन्दर सपना बोकेर अष्ट्रेलिया आएका थिए टोनु घोथाने । त्यतिबेला अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुले डिप्लोमा मात्र गर्ने चलन थियो । काम र समयको तालमेल आर्थिक दबाबले गर्दा विद्यार्थीहरु युनिभर्सिटीमा भर्ना भएर आफूले चाहे अनुसार पढाइलाई निरन्तरता दिन सक्दैनथे । तर टोनु घोथाने भने त्यो दबाब र चुनौतीलाई स्वीकार गर्दै युनिभर्सिटीमा भर्ना भए । त्यतिबेला नेपाली साथी र अग्रजहरुले निकै गाह्रो हुने बताउंदै आफ्नो निर्णय फेर्न सल्लाह दिएका थिए ।
आफूले रोजेको विषय महँगो पर्दा घोथानेले अन्य विषय रोजेर पढ्न थाले । तर उनले पढाइमा सम्झौता भने गरेनन् । पढाइलाई सधै प्राथमिकतामा राखे । चाहेको विषय पढ्न नपाउनु, समय व्यवस्थापनको दबाब र आर्थिक दबाबले उनलाई सताउँथ्यो । तर उनले कहिल्यै हार मानेनन् । मेलबर्नवासी टोनु घोथाने भन्छन् , “जब त्यो समयको दबाबलाई, त्यो चुनौतीलाई स्वीकार गर्दै अगाडी बढिन्छ, तब आफूले चाहे अनुसारको दिनसम्म पुग्न सकिने रहेछ । मलाई कानुन विषय पढ्ने मन थियो, तर महँगो भएकोले पढ्न पाइन । तर जब अर्को विषयबाट डिग्री हासिल गरेर करियरमा केही स्थायीत्व आयो , मैले मेरो त्यो चाहना पनि पूरा गर्न सकें ” ।
आफ्नो त्यो विद्यार्थीकाल, त्यो संघर्षलाई प्रेरणाको रुपमा लिने टोनु घोथाने अहिले नेपाली विद्यार्थीहरुका लागि अभिभावक र प्रेरणा बनेका छन् ।नेपाली समुदायमा अहिले उनी ‘टोनु दाइ’ को रुपमा प्रिय छन् । समस्यामा परेका जोकोही नेपाली विद्यार्थीलाई सहयोग गर्न उनी सधै तम्तयार रहन्छन् । विद्यार्थीलाई भिसा र अष्ट्रेलियाको बारेमा गलत सल्लाह नमिलोस् भन्ने उद्देश्यले उनले जानकारीमुलक युट्युब सिरिज समेत चलाइरहेका छन् । टिडब्लु जीजी एजुकेशन एंड माइग्रेसन कन्सल्टेन्सीमार्फत आएको उक्त सिरिजले नेपाली विद्यार्थीमा अष्ट्रेलियाको भिसा सम्बन्धि धेरै भ्रमहरुलाई तोड्न सहयोग गरेको छ । घोथाने टिडब्लु जिजी एजुकेशन एण्ड माइग्रेसनका प्रिन्सिपल हुन् ।
एनआरएनए अष्ट्रेलियाका पुर्व अध्यक्ष समेत रहेका टोनु घोथानेकै कार्यकालमा एनआरएनए अष्ट्रेलियाले विद्यार्थीहरुको लागि हेल्प डेस्क तथा सिपमुलक तालिम प्रदान गर्न सुरुवात गर्यो । त्यस्तै, विद्यार्थीहरु लगायत नेपाली समुदायमा बढेको नैराश्यता, डिप्रेसन, आत्महत्याका घटनालाई कम गर्ने उद्देश्यका साथ घोथानेकै पहलमा एनआरएनए अष्ट्रेलियाले पहिलो पटक मेन्टल हेल्थ कमिटिको स्थापना गर्यो । घोथानेका अनुसार, नेपाली विद्यार्थीहरुका लागि सहयोगी कदम चाल्नु उनको लागि चाहना मात्र होइन, कर्तव्य पनि हो ।
आफ्नो विद्यार्थीकालका भोगाइ, यहाँसम्म आइपुग्दाको संघर्षले गर्दा नेपाली विद्यार्थीका समस्या, दु:ख र भावनालाई आफूले सहजै महसुस गर्न सक्ने टोनु घोथाने बताउँछन् । त्यसैले पनि ‘टोनु दाइ’ सम्बोधन उनलाई निकै प्रिय छ । र, उनलाई त्यस्तै प्रिय छन् आफूलाई अभिभावक ठानेर  आउने नेपाली विद्यार्थीहरु ।
Please follow and like us:

Comments