मेलबर्न । अष्ट्रेलियामा नेपालका पर्यटनमन्त्री योगेश भट्टराईको उपस्थितिमा नेपाल भ्रमण वर्ष कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलियाका मुख्य शहरहरु मेलबर्न, ब्रिसबेन, सिड्नी लगायत ठाउँमा कार्यक्रम सम्पन्न भएको हो ।
अष्ट्रेलिया भ्रमणका क्रममा आयोजित कार्यक्रमहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले पर्यटन तथा उड्डयन क्षेत्रका लागि विशेष अन्तरक्रिया गरेका थिए । ब्रिसबेनमा आयोजित कार्यक्रममा मन्त्री भट्टाराईले भ्रमण वर्ष २०२० मा एक लाख अष्ट्रेलियन पर्यटक नेपाल भित्र्याउने लक्ष्य रहेको बताए । उनले उक्त लक्ष्य प्राप्तिको लागि सहयोग गर्न सम्पूर्ण नेपाली संघसंस्था तथा नेपाली समुदायलाई आग्रह गरेका थिए ।
त्यस्तै, प्रवासी एकता मन्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले डढेलो पिडीत अष्ट्रेलियनहरु प्रति सहानुभूति प्रकट गरेका थिए । अष्ट्रेलियामा डढेलो लागेको समयमा भ्रमण गर्नु अनुचित रहेको भन्दै सामाजिक संजालमा मन्त्री भट्टाराईको आलोचना भइरहेको अवस्थामा सिड्नीको कार्यक्रम आलोचित बन्न पुग्यो । सिड्नीमा आयोजित नेपाल भ्रमण वर्ष र्यालीमा अष्ट्रेलियन सुरक्षा अधिकारि ले हस्तक्षेप गरेको समाचारपछि कार्यक्रम आलोचित बनेको हो ।
सिड्नीको औपचारिक कार्यक्रम ओपेरा हाउस नजिकैको सर्कुलरकीमा आयोजना गरिएको थियो । अष्ट्रेलियामा नेपाल भ्रमण शुभारम्भको रुपमा आयोजित उक्त कार्यक्रममा न्यु साउथ वेल्सका सभामुख जोनाथन बडी, पूर्वप्रिमियर नाथन रिज र नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । मन्त्री भट्टाराईले भ्रमण वर्ष सफल बनाउनको लागि सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गरेका थिए ।
मेलबर्नमा बुधबार पर्यटन वर्ष २०२० सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम एनआरएनए अष्ट्रेलिया, भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत र नेपाल पर्यटन बोर्डको सहकार्यमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नेपालको पर्यटनको लागि अष्ट्रेलिया महत्वपूर्ण बजार रहेको बताएका थिए । भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले सिड्नीको कार्यक्रम आलोचित बनेतापनि कमि कमजोरीहरुलाई चिनेर त्यसलाई सकारात्मक रुपले लिई अगाडी बढ्नुपर्ने बताए ।
त्यस्तै, उनले भिजन सहितको युवा मन्त्री बनेको यो समयलाई सबैले सदुपयोग गरि साथ दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा बोल्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले अष्ट्रेलिया – नेपाल सिधा उडानको लागि पहल भइरहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले नेपाली समुदायले आफ्नो कर्तव्यको ख्याल राख्दै अष्ट्रेलियाको डढेलो पिडीतहरुलाई सहयोग गरिरहेको बताएका थिए  । उनले यो महिनाभित्र सहयोग रकम ५० हजार डलर पुर्याउने समेत जानकारी दिए ।

Comments