मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा संचालित एभरेष्ट भ्यु ट्राभल्सको ठगी काण्डका पीडितहरुलाई नेपाली संघसंस्था तथा नेपाली समुदायका अगुवाहरुले सघाउने भएका छन् । भिक्टोरिया राज्यका लागि नेपाली अवैतनिक महावाणिज्यदूत कार्यालयले प्रेस विज्ञप्ति जारि गर्दै आफूहरु सधै नेपालीहरुप्रति उत्तरदायी रहेको बताएको हो ।

 

न्युज २४ टेलिभिजनबाट संचालित कार्यक्रम सिधा कुरा जनतासंगमा अतिरन्जित तरिकाले उक्त प्रकरणलाई प्रस्तुत गरि आफूहरु माथि लाञ्छना लगाइएको विज्ञप्तिमा उल्लेख छ ।

 

यस्तो छ प्रेस विज्ञप्ति:

 

आदरणीय पत्रकार मित्रहरु,

गत फेब्रुअरी ५ तारिखमा केही नेपाली सञ्चारमाध्यममा अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि नेपाली अवैतनिक महावाणिज्यदूत कार्यालय र स्वयंम महावाणिज्यदूत चन्द्र योन्जनको विषयमा आएका अतिरञ्जनापूर्ण लाञ्छनाले विशेष ध्यानाकर्षण गराएको छ । उक्त लाञ्छना निराधार भएको स्पष्ट गराउँदै सो विज्ञप्ति जारी गरिएको जानकारी गराउँदछौं ।

विशेषतः नेपालबाट सञ्चालित न्यूज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासँगमा अष्ट्रेलियामा केही “नेपालीहरु अवैध हुन्डी कारोबारमा ठगीमा परेको” विषय प्रस्तुत गर्ने क्रममा महावाणिज्यदूत कार्यालयको भूमिका शंकास्पद रहेको भन्दै लगाइएको आरोप निराधार रहेको जानकारी गराउँदछौं । यसले जनमानसमा भ्रम सिर्जना गर्नेहुँदा केही विषय स्पष्ट पार्न चाहन्छौं ।

  1. अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुप्रति हामी पूर्णत उत्तरदायी छौं ।
  2. रकम ठगी र अनियमित आर्थिक कारोबारका विषयमा दुबै पक्ष (पीडक र पीडित) नेपाली नै भएका कारण हामीले यसमा मध्यस्थता गरेका हौं ।
  3. पीडितको पैसा कुनैपनि हालतमा फिर्ता हुनुपर्छ भन्ने हाम्रो पहिलो सर्त हो ।
  4. सहमति गरी पीडितको फसेको रकम फिर्ता गराउने हाम्रो प्रयास जारी रहँदा पनि प्रहरी प्रशासन या अन्य कुनै कानून कार्यान्वयन गर्ने निकायमा जानका लागि पीडित सबैजना स्वतन्त्र हुनुहुन्छ ।
  5. यो मध्यस्थताका क्रममा महावाणिज्यदूतको कार्यालय, एनआरएन अष्ट्रेलिया र नेप्लीज एशोसिएसन अफ भिक्टोरिया मध्यस्थतामा संलग्न छौं ।
  6. हाम्रो मूल उद्देश्य पीडितको रकम फिर्ता गर्ने भएपछि त्यसका लागि (पीडक र पीडित) दुबै पक्षलाई स्थितिको बोध गर्दै धैर्यताका साथ यो प्रक्रियालाई अगाडि बढाउनु पर्दछ भनिएकै हो ।
  7. व्यवसायिक क्षति र घाटा भएको अवस्थामा कम्पनीहरुले टाट पल्टिएको घोषणा गर्न सक्दछन् । यस्तो अवस्थामा पीडितहरुको पैसा गुम्ने खतरा हुनसक्छ । तसर्थ हामीले मध्यस्थता गरी पीडितको पैसा फिर्ता गर्न प्रयास गरिरहेका छौं ।
  8. अष्ट्रेलियामा एस्ट्रयाकमा दर्ता भइसकेपछि रेमिट्यान्सको कारोबार गर्न स्वीकृति लिएको मानिन्छ । सम्बन्धित कम्पनीले आफुले दर्ता गरेर नै व्यवसाय सञ्चालन गरेको बताएका छन् ।
  9. नेपालमा हुन्डीको कारोबार अवैध छ । यस्तो कारोबार गर्न पनि हुँदैन र गराउन पनि हुँदैन । यस्तो कार्यमा संलग्न भएको पाइएमा त्यस्तो व्यक्तिलाई नेपालको प्रचलित कानून अनुसार कारवाही हुन्छ ।

यस सँगै कार्यक्रममा महावाणिज्यदूत चन्द्र योन्जनलाई कार्यक्रममा प्रशारित हुन लागेको रिपोर्टको विषयमा स्पष्ट जानकारी नरहेको र कार्यक्रम सन्चालन टिमले स्थानीय समय मध्यविहान ३ बजे लाईभ आउन निरन्तर अनुरोध गरिरहेको अवस्थामा लाईभ आएर उक्त विषयलाई निष्पक्ष तरिकाले स्पष्ट गर्ने प्रयास गरिएपनि त्यस विषयलाई पक्ष र विपक्षको दृष्टिकोणबाट हेरिदिदाँ र अत्यन्त गलत बुझाईको साथ टिकाटिप्पणी गरिदिएकोमा हामी दुःखी छौं ।

यस विषयमा के भएको हो र के भइरहेको छ भनी थप बुझ्नका लागि हाम्रो कार्यलयमा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंका कुनै पनि जिज्ञासालाई हामी सहयोग गर्न सदैव तत्पर छौं ।

हामीलाई info@nepalconsulate.net.au इमेल तथा [+61 3] 9650 8338 फोन मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।

धन्यवाद ।

महावाणिज्यदूतको कार्यालय

भिक्टोरिया, अष्ट्रेलिया

 

मेलबर्नको ठगी प्रकरणबारे पिडित र नेपाली समुदायका अगुवाहरु बीच छलफल चल्दै गर्दा नेपाली मिडियामा पीडक एभरेष्ट भ्यू ट्राभल्सका निर्देशक रामजी पौडेलको नाम सार्वजनिक भएको बताइएको छ । पौडेलले मनि ट्रान्सफर, फर्जी टिकट बिक्रि र क्रेडिट कार्डबाट करिब ४ लाख ठगी गरेको आरोप छ ।

 

Comments