काठमाडौं । नेपाली समाजमा विदेशमोह बढ्दै गइहेको छ । विकसित देशको पीआर पाउनु आजको नेपाली युवापुस्ताको सपना बनिरहेको छ । यो समयमा एक नेपाली युवा भने २१ वर्ष बेलायत बसाई छाडेर नेपाल फर्किएका छन्  ।

 

आफ्नै रेष्टुरेन्ट व्यवसायमा स्थापित भएका लक्ष्मण गौतमले बेलायत र त्यहाँको सुख सुविधा  त्यागेर स-परिवार आफ्नै जन्मभूमी नेपाल फर्किने निर्णय गरे । सामान्यत: विकसित देशमा यसरी स्थापित जीवनलाई तिलान्जली दिएर स्वदेश फर्कने निर्णय दुई अवस्थामा हुने गर्छ: देश अत्यन्तै संकटग्रस्त अवस्थामा पर्दा अत्यन्तै राष्ट्रवादीहरुको निर्णय र दोश्रो, देशमा नै केही गर्न सकिने वातावरणको बलियो संभावना ।

 

नेपालको वर्तमान अवस्था भनेको ती दुवै अवस्थाबाट अलग अर्थात एउटा अवस्थाबाट अर्को अवस्थामा रुपान्तरण हुने संक्रमणकालको समय हो । यस्तो समयमा गौतमको निर्णयले धेरै महत्व राख्छ र धेरै सन्देशहरु दिन्छ पनि ।

 

नेपाल फर्किनुको उद्देश्य, योजना र आशाहरुको बारेमा लक्षमण गौतम बताउँछन्  ” एक पाईला अगाडी बढ्दा १० पाईला पछाडी तान्ने जमात भएको देश नेपालमा मेरो भोली चुनौतिपूर्ण छ। तर ती चुनौतीहरुसंग डटेर सामना गर्ने मसंग आत्मविश्वास छ । आशा गरौ मेरो वरिपरी भएका व्यक्ति, नेपाली समाज र सिंगो देशले मलाई नेपालमै स्थापित हुन सहयोग गर्ने छ ।”

 

गौतम थप्छन्  “मलाई बेलायतको सुख सुविधा, झिलिमिलीभन्दा नेपालको धुलो, माटो र अन्धकार नै प्यारो छ । म बेलायत आउँदा मेरो उमेर अलि सानो थियो । म देश र राष्ट्रियता भनेको बुझ्थिन, तर आज म परिपक्क भएको छु । देश र राष्ट्रियता के हो म बुझ्न सक्छु । सबैभन्दा ठूलो कुरा त ‘जे गरे पनि आफ्नै देशमा नै गर्नुपर्छ’ भन्ने भावना मभित्र जागृत भएर आएको छ । नेपाल हाम्रो हो र नेपाल हामीले नै बनाउनुपर्छ । नेपालमा सम्भावना छ र नेपाल बनाउन सकिन्छ । पर्यटन, कृषि, हाईड्रो पावर, खनिज आदिमा सरकारले ईमान्दारिताका साथ लगानी लगाउँछ र काम गर्छ भने नेपाल बन्छ, तर सबैभन्दा पहिला जनता सचेत हुनुपर्यो ।”

 

विदेशीएको युवा नेपाल फर्किनु जति खुशी र आशावादी देखिन्छ त्यति नै चुनौतीपूर्ण पनि रहेको गौतम बताउँछन् । उनी भन्छन् , ” देशका लागि केही गरौँ भन्ने मानिस नेपालमा टिक्नै सक्दैन, टिक्न नै दिदैनन् । नेपालमा सत्य बोल्दा ज्यान मार्ने धम्कि आउँछ, राम्रो काम गर्न खोज्दा खुट्टा तान्छन् भने चोर, फटाहा, डाकाहरुको चाहि हाली मुहाली छ । तर उमेर छँदै आफ्नै देश फर्कनुपर्छ र आफूले देखेको, सिकेको र कमाएको कुरा देशमै खर्चिनु पर्छ भन्ने मेरो मान्यता हो । म बेलायत त्यागेर नेपाल फर्किदैछु । नेपालको लागि म एउटा लक्ष्मण गौतम ठूलो कुरा होइन, तर यदि म नेपालको वातावरणमा भिजेर नेपालमै बस्न सकें  भने त्यसले अवश्य पनि विदेशमा विदेशी नागरिकता लिएर बसेका लाखौ युवालाई नेपाल फर्किन उत्प्रेरित गर्नेछ । तर यदि म नेपालमा टिक्न सकिन र फेरि विदेश नै हिड्नुपर्यो भने मेरो कथा पढेका साथीहरु नेपाल फर्किनेबारे सय पटक सोंच्न बाध्य हुनेछन । पहाडको मान्छे तराई वा तराईको मान्छे पहाड गएर त बस्न सक्दैन भने बीसौं वर्ष वेलायत, अमेरिका जस्ता विकसित देशमा बसेको मान्छे नेपालमा गएर बस्न त्यति सजिलो पक्कै छैन ।”

 

नेपालमा स्थापित पूराना कुनै पनि राजनीतिक दलका सिद्दान्त नराम्रा नरहेको तर मात्र पार्टी चलाऊने व्यक्तिहरुको शैली खराब रहेको गौतमको धारणा छ । त्यसैले राजनीति देखि समाजका हरेकजसो पाटोमा खराब व्यक्तिहरुलाई विस्थापित गराउंदै अगाडी बढ्न उहाँ युवाहरुलाई अनुरोध गर्नुहुन्छ ।

 

“लक्ष्मण गौतम हाल नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य हुनु हुन्छ “

 

 

 

Comments