मेलबर्न । विकसित देशहरुमध्ये पनि पछिल्लो समय अष्ट्रेलियाप्रति नेपालीहरुको आकर्षण बढिरहेको छ । अष्ट्रेलियामा बढिरहेको नेपाली मूलका मानिसहरुको संख्याले पनि यसलाई स्पष्ट पार्छ ।

अष्ट्रेलियन सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार, सन् २०१७ जुन ३० सम्म अष्ट्रेलियामा नेपालीको संख्या ७३ हजार ७ सय ४० थियो । २०२० सम्म आउँदा भने अष्ट्रेलियाको नागरिकता र पीआर पाउने नेपाली मूलका मानिसहरुको संख्या मात्र नै ६२ हजार ७ सय २४ रहेको छ । यो तथ्यांक ४ जनवरी २०२० सम्मको हो ।

यस बारे राखिएको जिज्ञासामा टिडब्लु जीजी माइग्रेसन एण्ड एजुकेसनका प्रिन्सिपल टोनु घोथाने भन्नुहुन्छ , ” विशेष गरि नेपाली विद्यार्थीहरु अष्ट्रेलिया प्रति आकर्षित छन् । यसले गर्दा अष्ट्रेलियामा नेपालीहरुको संख्या तीव्र गतीमा बढिरहेको छ । यो तथ्यांकबाट अर्को के कुरा पनि बुझ्न सकिन्छ भने नेपाली मुलका व्यक्तिहरु, विद्यार्थीहरु यहाँ इमान्दारी पूर्वक काम गरि, आफ्नो करियर निर्माण गरेर यहींको समाजमा स्थापित हुन सफल भएका छन् ।  पीआर र नागरिकतालाई नै सफलता मान्नु कतिपयको लागि गलत लाग्न सक्छ, तर यहाँ आएर नेपालीहरुले तल्लो तह देखि नै गर्नुपर्ने संघर्षलाई हेर्दा यो उनीहरुका लागि एउटा सफलता नै हो “। उहाँ थप्नुहुन्छ , ” यसबाट नयाँ पुस्ता पनि सही परामर्श लिएर आत्मबलका साथ अगाडी बढ्न प्रेरित हुनेछन् भन्ने मलाई लाग्छ “।

२०१७ देखि अष्ट्रेलिया आउने नेपाली विद्यार्थीहरुको संख्या अत्यधिक बढेको बताउंदै घोथानेले यहाँका नेपाली संघ संस्थाहरुले यी आधिकारिक तथ्यांक अनुसार आफ्ना कार्यक्रमहरु अगाडी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Comments