मेलबर्न । अष्ट्रेलियाको नागरिकता प्राप्त गर्नको लागि परिक्षामा सामेल भइ पास हुनुपर्छ । उक्त परिक्षा अंग्रेजी भाषामा लिइन्छ ।

लेबनानका रदवन शर्फ़ २००९ मा अष्ट्रेलिया आएका थिए । अष्ट्रेलियामा घरको पेंटिंग गर्ने काम गरेका उनले काम गर्दा गर्दै अंग्रेजी फरर्र बोल्न सिके ।

३९ वर्षीय ती लेबनानी व्यक्तिका अनुसार, उनको परिवार गरिब थियो । त्यसैले सानै उमेरबाट उनले काम गर्न थाले र उचित शिक्षा हासिल गर्न पाएनन् । जसले गर्दा अंग्रेजी भाषामा लेखपढ गर्न सिकेनन् ।

अंग्रेजी भाषा लेखपढमा दक्ष नभएकै कारण उनको अष्ट्रेलियाको नागरिकता लिने सपना पुरा हुन सकेको छैन । उनी नागरिकता सम्बन्धि परिक्षामा ८ पटक सामेल भए तर सफल हुन सकेनन् । दुई सन्तानका पिता शर्फ़ले आफ्नै भाषामा परिक्षा दिन पाएका कारण ड्राइभिंग परिक्षा एकै पटकमा पास गरेको बताएका छन् ।

नागरिकता सम्बन्धि परिक्षाको नतिजाले आफू तनावमा रहेको बताउंदै उनले भनेका छन् , ” के पढ्न नपाउनु मेरो गल्ती थियो र ? गरिब मान्छेले बाँच्न नपाउने भन्ने छ र ?  यदि मैले मेरै भाषामा परिक्षा दिन पाउँथे भने पास हुन्थें होला । आखिर मैले आफ्नो पसिना यहीं बगाएको छु “।

उनले अष्ट्रेलिया सरकारले यो नियम परिवर्तन गरि वैकल्पिक भाषा पनि राख्नुपर्ने माग गरेका छन्।

Source : SBS News

 

Comments