काठमाडौँ, २५ जेठ । विश्वभर कोरोना भाइरसका कारण हालसम्म ४ लाखभन्दा बढीले ज्यान गुमाएका छन् । वल्र्डवमिटरका अनुसार हालसम्म विश्वभर ४ लाख ९ हजार १७८ जनाको ज्यान गइसकेको छ । त्यस्तै संक्रमितको संख्या ६९ लाख ७० हजारभन्दा बढी रहेको छ ।

पछिल्लो समय अमेरिका, ब्राजिल भारत लगायत लेटिन अमेरिकी देशहरुमा कोरोना तीब्र रुपमा फैलिएको छ ।निको भएर फर्किनेको संख्या ३४ लाख ११ हजारभन्दा बढी रहेको छ ।

३१ लाख संक्रमितको अवस्था माइल्ड प्रकृतिको रहेको छ । ५३ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ ।त्यस्तै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मास्क लगाउनेबारे नयाँ दिशानिर्देश जारी गरेको छ । यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्लुएचओले अहिले भने सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा मास्क लगाउन भनेको हो ।

सार्वजनिक यातायात, बजार, शिविर जस्ता स्थानमा जाँदा कम्तिमा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन डब्लुएचओले सल्लाह दिएको छ । यो नियम विश्वका धेरैजसो देशहरुले यसअघि नै लागु गरिसकेका छन् । डब्लुएचओको कोभिड–१९ सम्बन्धमा प्रमुख प्राविधिक विज्ञ डा मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट केही हदसम्म जोगिन सकिने उल्लेख गरेका छन् ।

Comments