एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चनपछि साउथ इन्डियन अभिनेत्री ऐश्वर्या अर्जुनमा पनि कोरोना संक्रमण देखिएको छ ।

साउथ अभिनेता तथा निर्माता अर्जुन सरजाकी छोरी तथा अभिनेत्री ऐश्वर्या पनि कोरोना संक्रमित भएकी हुन् । ऐश्वर्याले सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै पछिल्लो समय उनीसँग नजिक रहेका व्यक्तिहरूले पनि कोरोना परीक्षण गराउन सुझाव दिएकी छिन् ।

उनले लेखेकी छिन्, “मैले हालै गरेको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । अहिले डाक्टरको निगरानीमा घरमै क्वारेन्टिनमा बसिरहेकी छु । पछिल्लो केही समययता मसँग सम्पर्कमा हुनुभएका सबैले परीक्षण गराउनुहोला ।”

उनले सबैलाई मास्क लगाउन र सुरक्षित बस्न आग्रह गर्दै पोस्ट टुङ्ग्याएकी छिन् ।अभिनेत्री ऐश्वर्याले सन् २०१३ मा तमिल फिल्म ‘पट्टाथु यानाई’ बाट चलचित्रमा डेब्यु गरेकी थिइन् । साथै उनले सन् २०१८ मा रिलिज भएको कन्नाड चलचित्र ‘प्रेमा बराहा’ मा पनि अभिनय गरेकी छिन् । गत साता मात्रै उनकी आफन्त ध्रुव सरजा र उनकी पत्नी प्रेरणा सरजामा कोरोना पोजेटिभ देखिएको थियो ।

Comments