३ भदौ, तास्मानिया 

विगत दुई वर्षदेखि अष्ट्रेलियाको तास्मानिया राज्यमा अवस्थित लन्चेस्टनमा क्रिकेट खेल्दै आएका नेपाली खेलाडीहरु अहिले एकदमै उत्साहित छन् ।नहोउन् पनि किन, स्थानीय टिमविरुद्ध आफ्नो क्षमता प्रदर्शन गर्दै आएका उनीहरु यही अक्टोबरमा आयोजना गरिएको तास्मानिया क्रिकेट लिगको ए ग्रेड खेल्ने तयारीमा जुट्दैछन् ।

गत वर्ष तास्मानिया क्रिकेट लिगले आयोजना गरेको ए रिजर्भमा खेलिएका १० टिमहरुमध्ये पहिलो खेलमै उत्कृष्ट तीनमा पर्न सफल भई लन्चेस्टन नेपाली क्रिकेट क्लब ग्रेड ए खेल्न छनोट भएको थियो । क्रिकेटको आफ्नै टिम बनाएर लिग खेल्ने यो नेपाली क्लब सम्भवतः अष्ट्रेलियाकै पहिलो नेपाली क्रिकेट टिम हो । ‘अब हाम्रो लक्ष्य भनेको प्रिमियर खेल्नु हो,’ टिम म्यानेजर पोषण कोइरालाले भने, ‘त्यो खेल्न पाउनु हाम्रोलागि ठूलो सफलता हुनेछ ।’ टिम त्यही अनुसारको तयारीमा जुटेको पनि उनले बताए ।प्रिमियर लिग तास्मानिया क्रिकेट लिगको सबैभन्दा ठूलो प्रतिस्पर्धी खेल मानिन्छ ।

नेपाली लन्चेस्टन क्रिकेट क्लबको सुरुआत

क्रिकेट खेलप्रति रुचि राख्ने लन्चेस्टनका केही नेपाली युवाहरुले सन् २०१५ देखि स्थानीय मैदानहरुमा मनोरञ्जनका लागि मात्र भनेर खेल्न सुरु गरेका थिए ।

तर, आउँदा दिनहरुमा क्रिकेट खेल्ने आकांक्षीहरुको संख्या बढ्दै गएको र तास्मानिया क्रिकेटमा पनि नेपालीहरुको उपस्थिति जनाउनुपर्छ भन्ने सोंच राखेर उनीहरुले सन् २०१९ मा क्रिकेट क्लब गठन गरी तास्मानिया क्रिकेट लिगमा आवद्धसमेत भए ।

‘खेलाडीहरुको कडा मेहनत र स्पोन्सरहरुको पर्याप्त सहयोग पाएकाले पहिलो वर्ष नै तास्मानिया क्रिकेट लिगको ए रिजर्भ खेलमा उत्कृष्ट तीनमा पर्न सफल भयौं,’ लन्चेस्टन नेपाली क्रिकेट क्लबका निवर्तमान अध्यक्ष आदित्य सिंहले  बताए ।

पहिलो वर्ष नै क्रिकेट तास्मानियाले नेपाली टिमलाई तास्मानिया राज्यमा क्रिकेट खेलप्रति पुर्याएको योगदानको कदर गर्दै ‘इन्क्लुजन एण्ड डाइभर्सिटी अफ द इयर’ अवार्डबाट सम्मान गरेपछि पनि उनीहरुलाई थप उत्साह मिल्यो ।त्यति मात्रै होइन, गत वर्षको ए रिजर्भ खेलमा आधारित तास्मानिया क्रिकेट लिगले छनोट गरेका ११ उत्कृष्ट खेलाडीहरुमध्ये २ जना नेपाली खेलाडीहरु पनि छनोट भएका थिए ।

‘यसरी हाम्रो टिमलाई तास्मानियाकै ठूलो क्लबले मान्यता दिनु र खेलाडीहरुलाई हौसला प्रदान गरिनुले हाम्रा खेलाडीहरुमा थप जोश र जाँगर थपिएको छ,’ क्लबका वर्तमान अध्यक्ष रामकुमार श्रेष्ठले भने । आगामी दिनहरुमा पनि अझै उत्कृष्ट प्रदर्शन गर्दै जाने श्रेष्ठले प्रतिवद्धता जनाए ।हाल उक्त टिममा ३० जना खेलाडीहरु रहेका छन् ।

क्लबको पहिलो साधारण सभा सम्पन्न

यही आइतबार क्लबको पहिलो साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले पुरानो समितिलाई खारेज गर्दै रामकुमार श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नयाँ कमिटी सर्वसम्मतले पारित गरेको छ । नयाँ कमिटीको अध्यक्षमा रामकुमार श्रेष्ठ, उपाध्यक्षमा शुलभ मास्के, सेक्रेटरीमा महेश्वर पराजुली र टिम म्यानेजरमा पोषण कोइरालालाई चयन गरेको छ ।

त्यसैगरी सुदीप गिरी र अनिल ढकाल क्रमशः टिमको कप्तान र उपकप्तानमा चयन भएका छन् ।त्यस्तै, टिमको सल्लाहकारहरुमा अमृत शर्मा, आदित्य सिंह, रोशन डल्लाकोटी र प्रशान्त खनाल चयन भएका छन् । उक्त कार्यक्रममा गत सिजनमा खेलेका ५ खेलाडीहरुलाई विभिन्न अवार्डबाट सम्मान गरिएको थियो ।

Please follow and like us:

Comments