मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले कोरोना भाइरस प्रभावित नेपाली समुदायलाई १ लाख डलर सहयोग गर्ने भएको छ। बहुसांस्कृतिक मन्त्रीस्तरीय निर्णयले नेपाली समुदायका लागि १ लाख डलर अनुदान सहयोग स्वीकृत गरेको हो।

सरकारले भिक्टोरियन नेपाली कोभिड १९ टास्क फोर्सलाई ५० हजार डलर अनुदान सहयोग दिने भएको छ। नेपालबाट भिक्टोरिया आएका विद्यार्थी तथा काम गुमाएकाहरुका लागि एनआरएनए अष्ट्रेलिया, नेप्लिज एसोसिएसन अफ भिक्टोरिया, भिक्टोरिया स्थित महावाणिज्यदुतको कार्यालय, अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन लगायत नेपाली सामाजिक संस्थाहरुको समूह ‘भिक्टोरियन नेपाली कोभिड १९ टास्क फोर्स’ ले खाद्यान्न लगायत अत्यावश्यक वस्तु तथा सेवाको लागि सहयोग गर्दै आएको छ ।

त्यस्तै, राज्य सरकारले भिक्टोरियामा कोरोना प्रभावित नेपालीहरुका लागि उल्लेख्य सहयोग गरिरहेको संस्था दिदीबहिनी समाज भिक्टोरियालाई पनि आर्थिक अनुदान दिने भएको छ। सरकारले दिदीबहिनी समाजको लागि पनि ५० हजार डलर अनुदान सहयोग दिने भएको हो।

संस्थाहरुले सरकारको यो निर्णयले सहयोग अभियानको लागि अझ धेरै हौसला र हिम्मत बढेको भन्दै सहयोग अझ प्रभावकारी हुने बताएका छन्। संस्थाका प्रतिनिधिहरुले नेपाली समुदायको लागि सरकारले गरेको यो निर्णयप्रति कृतज्ञता प्रकट गरेका छन्।

Comments