एडलेड। अष्ट्रेलियामा आयोजित दशैं कप फुटबल प्रतियोगितामा एडलेड खुकुरी फुटबल क्लब विजयी भएको छ। एडिलेडमा आयोजित प्रतियोगिताको फाइनल खेलमा शहिद भगतसिह फुटबल क्लब (एसविस)लाई पराजित गर्दै एडलेड खुकुरी क्लब उपाधी जित्न सफल भएको हो।

नेपालीहरुको महान चाड दशैंको अवसर पारेर २०१३ देखि यता हरेक वर्ष एडलेड खुकुरी फुटबल क्लबले प्रतियोगिताको आयोजना गर्दै आएको छ।

यस वर्ष अक्टोबर ३ र ४ गरी दुई दिनसम्म संचालित प्रतियोगिताको सेमिफाइनलमा एडलेड खुकुरी फुटबल क्लबले एडलेड ड्रयागन स्पोर्टिङ क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो। जसमा एडलेड खुकुरीका मानस बज्राचार्य उत्कृष्ट खेलाडी घोषित भएका थिए।

त्यस्तै, अर्को सेमिफाइनल खेलमा भगतसिह फुटबल क्लबले एडलेड ड्रयाङन फुटबल क्लबलाई हराउँदै फाइनल खेलको लागि आफ्नो स्थान सुरक्षित गरेको थियो। उक्त खेलमा भगतसिह फुटबल क्लबका वेनि सिह उत्कृष्ट खेलाडी घोषित भएका थिए।

दशैं कप फुटबल प्रतियोगितामा ३५ वर्षमाथिका भेट्रानको समेत ६ टोलीले सहभागिता जनाएका थिए। जसमा ब्रदर युनाइटेड फुटबल क्लब (बियुएफसी) र एडलेड खुकुरी फुटबल क्लब फाइनलमा पुग्न सफल भए। रोचक फाइनल खेलमा ब्रदर युनाइटेड फुटबल क्लब उपाधि जित्न सफल भयो।

त्यस्तै, प्रतियोगितामा जुनियर समूह अन्तर्गत नेपाली पाठशाला विजेता र एडलेड नेपाली विद्यालय उप विजेता भए भने महिला समूह तर्फ अफगान फुटबल कल्ब विजेता र एडलेड ड्रयागन स्पोर्टिङ क्लव उपविजेता भएका थिए ।

नेपाली सहित भारतीय, भुटानी र अफगानी टिम समेत समावेश भएको यस प्रतियोगिताका विजेताले १ हजार ५ सय डलर पुरस्कार र ट्रफी तथा उपविजेताले ५ सय डलर पुरस्कार प्राप्त गरेका छन् ।

Comments